शुक्लागण्डकी नगरपालिकाको बेरुजु २५ करोड नाघ्यो, आर्थिक अनुशासनमा गम्भीर प्रश्न
दुलेगौंडा, तनहुँ – महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले शुक्लागण्डकी नगरपालिकाको आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकाको अद्यावधिक कुल बेरुजु २५ करोड २ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जसले वर्षेनी बेरुजु बढ्दै गएको देखाएको छ।
महालेखाका अनुसार नगरपालिकाको आय–व्ययतर्फ २ अर्ब ३७ करोड २३ लाख ५६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४ करोड ७५ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको थियो। प्रतिवेदनमाथिको प्रतिक्रियापछि ९ हजार रुपैयाँ सम्परीक्षण भए पनि ४ करोड ७५ लाख ३२ हजार रुपैयाँ बेरुजु कायम रहेको छ।
कायम बेरुजुमध्ये १ करोड ९३ लाख १९ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने, १ करोड ९७ लाख ६८ हजार रुपैयाँ नियमित गर्नुपर्ने, ७० लाख ७३ हजार रुपैयाँको प्रमाण कागजात पेश गर्नुपर्ने तथा १३ लाख ७२ हजार रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी रहेको महालेखाले उल्लेख गरेको छ।
अघिल्लो आर्थिक वर्षसम्म २० करोड २७ लाख २६ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा चालु वर्षको थप बेरुजुसँगै कुल अद्यावधिक बेरुजु २५ करोड २ लाख ५८ हजार रुपैयाँभन्दा माथि पुगेको हो। यसले नगरपालिकामा बेरुजु फर्छ्यौट प्रभावकारी हुन नसकेको र आर्थिक अनुशासन अपेक्षाअनुसार सुधार हुन नसकेको संकेत गरेको छ।
महालेखाले नगरपालिकाले नगदमा आधारित लेखा प्रणाली अपनाएकाले पेस्कीबाहेक सम्पत्ति तथा दायित्वको यथार्थ विवरण खुल्ने गरी लेखा राख्न नसकेको पनि औँल्याएको छ। यसले नगरपालिकाको समग्र वित्तीय अवस्थाको स्पष्ट चित्र प्रस्तुत हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा सार्वजनिक खर्च, वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा कानुनी प्रक्रिया पालनामा सुधार आवश्यक रहेको उल्लेख गर्दै बेरुजु फर्छ्यौटलाई उच्च प्राथमिकतामा राख्न र आर्थिक सुशासन सुदृढ गर्न नगरपालिकालाई निर्देशन दिइएको छ।

























