जेनजी आन्दाेलनमा दमाैलीमा ७ प्रहरी घाइते
जेनजी आन्दोलनको क्रममा दमाैलीमा ७ जना प्रहरी घाइते भएका छन् । २४ भदौमा अनशन चाैतारीबाट शान्तिपूर्ण रूपमा निस्केको युवाहरूको समुह बजार परिक्रमा गर्दा सम्म शान्त नैं रहेको थियो । उक्त जुलुस सफासडक हुँदै पृथ्वीराजमार्ग , गणेशमानचाेक , अमरापुरी लगायतका स्थानमा पुगेको थियो ।
त्यसपछि जुलुसमा संख्या बढ्दै गयो । त्यही समयमा नेकपा एमालेकाे पार्टी कार्यालयमा ताेडफाेड सँगै आगलागीकाे प्रयास समेत भयो । तत्कालै उक्त भिड नेपाली काङ्ग्रेसको पार्टी कार्यालय ताेडफाेड गर्नतिर लाग्यो । प्रदर्शनकारी केही युवाहरू भित्र पसेर ताेडफाेड गरेपछि ड्युटी कमाण्डर इन्स्पेक्टर शिव पाठकले राेक्ने प्रयास गरे । तर त्यहीक्रममा उनको निदारमा ढुंगाले लागेर रगताम्मे हुनेगरी घाइते भए र तत्कालै अस्पताल लगियो ।
प्रदर्शनकारीहरू त्यसपछि व्यास नगरपालिका , जिल्ला बन कार्यालय , आन्तरिक राजस्व कार्यालय , शिंचाइ कार्यालय , खानेपानी , मालपोत कार्यालय , रामचन्द्र पाैडेलकाे घर लगायतमा ताेडफाेड र आगजनीमा उत्रिए । थुप्रै गाडीहरू जले । त्यतिबेला सम्म प्रहरी सिडियाे कार्यालय र अदालत लगायतका महत्त्वपूर्ण अभिलेख रहने कार्यालयलाई सुरक्षित राख्ने याेजनाका साथ परिचालन भएको देखिन्थ्यो ।

पटकपटक सिडियाे कार्यालयमा प्रवेश गर्न खाेजेका प्रदर्शनकारीलाई अश्रुग्यास हान्दै प्रहरीले राेकेकाे थियो । अनशन चाैतारी नजिकैको गेटमा प्रहरी रहेको र प्रदर्शनकारीले सिडियाे कार्यालय जानपाउन पर्छ भनेर चर्को नाराबाजी गरेपछि लामो समयसम्म घम्साघम्सी भएको थियो । त्यसवेला जिल्लाका डिएसपी अशोक थापाकाे कमाण्डमा प्रहरी परिचालन भएको थियो । आन्दाेलनकारीले ढुंगा इट्टा , रक्सी बियर काेकका बाेत्तल निरन्तर प्रहार गरिरहेका भए पनि प्रहरीले संयमित हुँदै माइकिङ गरेर अगाडि नवढ्न अनुरोध गरिरहेकाे देखिन्थ्यो । प्रहरीले अश्रुग्यास हानेपछी प्रदर्शनकारीले त्यहीँ अश्रुग्यास टिपेर प्रहरी तिरै फालेपछी प्रहरी पछाडि हटेको थियो ।

त्यहीक्रम साँझसम्म चलिरहेको थियो । त्यतिबेला सम्म प्रशासन , अदालत र समन्वयमा प्रदर्शनकारी पस्न सकेका थिएनन् । जब केही प्रदर्शनकारीले व्यास नगरपालिकाकाे ट्याक्टर आँफै चलाएर ल्याइ पेल्न खाेजे त्यसपछि प्रहरीले हतियार तथा ज्यान बचाउन पछाडि हटेको देखिन्थ्यो । त्यही क्रममा एकजना प्रहरीकाे औला भाँचिएको छ भने अदालतमा आगलागी राेक्ने क्रममा ड्युटी कमान्डर डिएसपी अशोक थापा घाइते भएका थिए । उनको छाती माथिकाे भागमा ढुंगा लागेको प्रहरी श्राेतले बताएको छ । ड्युटीमा रहेका एक प्रहरी अफिसर भन्छन् , दिनभरि भाेकभाेकै ड्युटीमा ढुंगा खाँदै खटियाैँ , साथ, सपाेर्ट पाइएन अन्तिम सम्म सरकारी सम्पत्ति जाेगाउन प्रयासरत रह्यो अन्तिममा केही उपाय लागेन र छाेड्याैँ । अर्का एक प्रहरी भन्छन् जेनजीका असली टाेलि रातिसम्म थिएनन् , सबै घुसपैठ थियो , भर्खरका केटाहरूमा पनि खुकुरी चक्कु साथमा थियो , कसैको नियन्त्रणमा काेहि नभएपछि स्थिती नियन्त्रण बाहिर गयो । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर कार्कीले डिएसपी थापा सहितका ड्युटीमा खटिएका प्रहरीहरू घाइते भएको बताए ।
























