तनहुँ प्रहरी प्रमुख कार्कीको सक्रियता – कारागारबाट भागेका १८४ कैदीबन्दी पक्राउ
तनहुँ कारागारबाट गत मङ्गलबार साँझ ३२७ जना कैदीबन्दी भागेकामा सनिवारसम्ममा १८४ जना पक्राउ परेका छन् । कारागारमा रहेका ३२७ फरार मध्ये हालसम्म १८४ कैदीबन्दी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीले बताए । तनहुँ प्रहरीको सक्रियता र प्रहरी प्रमुख कार्कीको सशक्त नेतृत्व तथा सक्षमताले फरार कैदिबन्दीहरू छाेटाे समयमै यति ठुलो संख्यामा पक्राउ गर्न सफल भएका हुन् ।

जेनजी आन्दोलन चर्किएपछि सदरमुकाम दमौलीस्थित विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला कैदीबन्दी पनि भागेका थिए । कारागारबाट भाग्नेमा २० जना महिला र बाँकी सबै पुरुष थिए । स्थिती नियन्त्रण बाहिर गएपछी कैदीबन्दी भाग्न सफल भएका हुन् । आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समिति, तनहुँ जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगतयतमा आगजनी र तोडफोड गरेका थिए ।
सोही क्रममा कारागार परिसर पनि निशानामा परेपछि कैदीबन्दी भागेका हुन् । फरार कैदीबन्दीमध्ये कतिपय सजाय भुक्तान गरीरहेका सामान्य मुद्दाका रहे पनि धेरै जना गम्भीर आपराधिक मुद्दामा जेल जीवन बिताइरहेका थिए ।

जेनजी आन्दोलनका बेला संगठनभित्र देखिएको भ्रम, राजनीतिक दबाब र नेतृत्वको अभावका कारण धेरै प्रहरी कर्मचारी निराश बनिरहेकाे अवस्थामा एसपी कार्कीको संयमित तर निर्णायक शैलीका कारण संगठनभित्र पुनः विश्वास र एकताको माहोल निर्माण गर्दै प्रहरी पुरानै अवस्थामा फर्केको देखिन्छ । एसपी कार्की भन्छन् , आन्दाेलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति काेही कसैले लुटेको छ भने त्यो सुचना प्रहरीलाई दिन तथा सम्बन्धित व्यक्तिहरूले तुरुन्तै फिर्ता ल्याउन आग्रह गर्दछु । अन्यथा कारबाहीको भागिदार हुनुपर्नेछ ।
त्यसाेत आन्दाेलनका दिन कार्कीले सुरक्षा निकायलाई केवल बलप्रयोगको माध्यममा सीमित नगरी, संवाद, तथ्य र रणनीतिक संयोजनमार्फत समस्याको समाधान खोज्ने दृष्टिकोण अपनाएका देखिन्थ्यो । यही कारण पनि प्रहरी बलभित्र पेशागत गौरव, जिम्मेवारीप्रतिको निष्ठा र मनोबल पुनः जागृत बनाएको त थियो नैँ साथै मानवीय क्षति हुन पाएकाे थिएन । एसपी कार्की उक्त दिनको घटना सम्झदै भन्छन् – हामी उक्त दिन ड्युटीमा खटिएका प्रहरी अधिकृतहरू घाइते हुँदापनी संयमित भयौं , साँझ ५ बजेसम्म धेरै जसाे सरकारी कार्यालयहरू समेत जाेगाएर राख्यौं । दिनभरिकाे थकान , भाेकभाेकै पानी पनि नखाई प्रहरी ड्युटीमा रहनुपर्दाकाे अवस्था , आँफैमा चुनाैतिपुर्ण थियो । तरपनि प्रहरीले समाजप्रतिकाे आफ्नाे कर्तव्य र शान्तिसुरक्षाको दायित्वलाई बाेध गर्दै हरसम्भब प्रयास गरिरह्याैँ । यस्तोबेला साँझ हुँदै गएपछि आन्दाेलनमा घुसपैठ बढ्दै गयो , उच्छृङ्खल गतिविधि बढ्दै गयो , प्रहरी माथि नैँ ट्याक्टर ल्याएर ज्यान लिने अवस्थाकाे हर्कत भएपछि सुरक्षाबार बाट प्रहरी केही पछाडि हटेको थियो ।
संगठनभित्रका जवानदेखि उच्च अधिकृतसम्मलाई उत्साहित पार्दै “प्रहरी संगठनको प्रतिष्ठा जनतामाझ पुनः स्थापित गर्नु हाम्रो पहिलो दायित्व हो” भन्ने सन्देश एसपी कार्कीले दिएका छन्। उनलेे समाजमा शान्तिसुरक्षाको अवस्था राम्रो र पुरानै अवस्थामा रहेकोले ढुक्कसँग आफ्नाे दैनिकी चलाउन समेत अनुरोध गरेका छन् । चाडपर्व नजिकिँदै गरेको अवस्थामा समाजमा चाेरीका घटना बढ्न सक्ने हुँदा प्रहरी गस्ती तथा चेकिङ बढाइने र प्रहरीलाई जिल्लाका सबै युनिटमा तयारी अवस्थामा राख्ने रणनीतिका साथ अगाडि बढेको उनलेे बताए ।
























