बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

  बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सोमबार दमाैलीमा सम्पन्न भएको छ। रूम टु रिड को आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा तनहुँका विभिन्न विद्यालयहरूमा सञ्चालित बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमको समीक्षा सहित बैठक सम्पन्न भएको हो। 
   कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रम अति प्रभावकारी भएकाले तनहुँका सबै पालिकाहरुकाे विद्यालयहरुमा कार्यक्रम संचालन गर्न राम्रो हुने बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यक्रमको दिगोपना बारे चर्चा गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेकाे अध्यक्षतामा भएको कार्यक्रममा रूम टु रिड का बरिस्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुँवरले स्वागत तथा कार्यक्रम अधिकृत कलावती बिमलीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा शिक्षा तालिम केन्द्र तनहुँका प्रमुख नेपालहरि रानाभाट, शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, रुम टु रिड का नित्यानन्द पाण्डे, कलावती बिमली लगाएतकाले बालिका शिक्षाले बालिकाहरूको व्यवहारमा सकारात्मक परिवर्तन आएको धारणा राखेका थिए |
सम्मान र समुन्नत समाजको सिर्जना भन्ने नाराका साथ बालबालिकाको पठनसिप तथा पढ्ने बानीको विकास गर्दै बालिकाहरूलाई माध्यमिक शिक्षा उत्तीर्ण गर्न र जीवनका महत्त्वपूर्ण निर्णयहरु लिन सक्ने, आवश्यक सीपहरूको विकास गर्न सहयोग पुर्याउने उदेश्यले रूम टु रिड को आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लबको व्यवस्थापनमा कार्यक्रमलाई अगाडि बढाइएको सूर्योदय क्लबका कार्यक्रम प्रवन्धक द्रोणाचार्य तिमिल्सिनाले जानकारी दिएका छन् ।
तनहुँमा शुक्लगण्डकी नगरपालिकाको ८ वटा विद्यालय, व्यास नगरपालिकामा ६ वटा विद्यालय, भिमाद नगरपालिकामा ४ वटा विद्यालय, म्याग्दे गाउँपालिकामा ४ वटा विद्यालय, बन्दीपुर गाउँपालिकामा दुईवटा विद्यालय, भानु नगरपालिका र रिसिङ गाउँपालिकामा एक एक वटा विद्यालयमा गरेर २६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको सूर्योदय बाल क्लबकी कार्यक्रम अधिकृत लक्ष्मी नेपालले जानकारी दिइन् । कार्यक्रमबाट २ हजार ६९ बालिकाहरु लाभान्वित भएको बताइएको छ|
कार्यक्रम अन्तर्गत यस वर्षदेखि कक्षा ६ का बालकहरूलाई पनि जीवन उपयोगी सीपको कार्यक्रममा समावेश गर्न थालिएको सूर्योदय क्लबका रेशमलाल श्रेष्ठले बताए |


कार्यक्रमले बालिकाहरूमा आत्मविश्वास बढेको, नेतृत्व लिने क्षमताको विकास भएको, जीवन उपयोगी सिपको वृद्धि भएको, सम्मान गर्ने संस्कारको विकास भएको, साथीहरूबीच सहकार्यको भावनामा वृद्धि भएको, अतिरिक्त क्रियाकलापमा सक्रियता बढेको, पढाइमा अब्बल हुन थालेको, सिकेको कुरालाई अरुलाई सिकाउने, व्यवहारमा परिवर्तन भएको , आइपरेका समस्याहरुको समाधानका लागि आफै अग्रसर हुने गरेकाे, आफूलाई पर्न सक्ने यौन दुर्व्यवहार बारेमा सचेत हुन मद्दत पुगेको कार्यक्रममा सहभागी बालिका र उनका अभिभावकहरुले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page