मेलमिलाप दिवसमा कांग्रेस एकताको संकेत, कोइराला र जोशीबीच संवाद

मेलमिलाप दिवसमा कांग्रेस एकताको संकेत, कोइराला र जोशीबीच संवाद


दमौली, पुस १६
जननायक विपी कोइरालाले आठ वर्षको निर्वासनपछि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिन पुस १६ को अवसरमा नेपाली कांग्रेसभित्र एकताको बहस पुनः सुरु भएको छ।
४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा कांग्रेस नेता शेखर कोइराला र राजनीतिक विश्लेषक तथा नेता दीपकराज जोशीबीच बुधबार काठमाडौँमा भएको संवादलाई पार्टीको आन्तरिक एकता सुदृढ बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ।
संवादका क्रममा कोइरालाले विपी कोइरालाको मेलमिलापको नीति आज पनि सान्दर्भिक रहेको बताउँदै लोकतान्त्रिक मूल्य, पारदर्शिता र समावेशिताका आधारमा कांग्रेसलाई पुनः सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो। पार्टीभित्रका सबै विचार र समूहलाई सम्मानपूर्वक समेटेर अघि बढ्न सके मात्र जनविश्वास फर्काउन सकिने उहाँको भनाइ थियो।
दीपकराज जोशीले कांग्रेसको समावेशी परम्परालाई आत्मसात् गर्दै विगतमा विभिन्न कारणले पार्टीबाट टाढा भएका निष्ठावान् नेता, कार्यकर्ता र समर्थकहरूलाई पुनः मूलधारमा फर्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो। पार्टीको ढोका सधैँ खुला राखेर साझा लक्ष्यका लागि एकताबद्ध हुनुपर्ने उहाँको धारणा थियो।

राजनीतिक वृत्तले यस भेटलाई कांग्रेसभित्र सुधार, पुनर्संरचना र एकताको सम्भावनालाई बलियो बनाउने प्रयासका रूपमा लिएको छ। विपीको राष्ट्रिय एकताको सन्देशलाई आत्मसात् गर्दै यस्ता संवादले आगामी निर्वाचन र संगठन सुदृढीकरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page