दमौली बजार इकाईको सभापतिमा अन्जुको उम्मेदवारी घोषणा,पहिलो महिला सभापति बन्ने दाबी

दमौली बजार इकाईको सभापतिमा अन्जुको उम्मेदवारी घोषणा,पहिलो महिला सभापति बन्ने दाबी


दमौली, १९ पुस
तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको आगामी नेतृत्व चयनका लागि चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा हालकी सचिव अन्जु दाहालले सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ।
पुस २२ गते साधारणसभा र २३ गते अधिवेशन तय भएको दमौली बजार इकाईको निर्वाचनमा दाहाल उम्मेदवार बनेसँगै चुनावी माहोल थप रोचक बनेको छ। उहाँ निर्वाचित भएमा तनहुँकै बजार इकाईमा पहिलो महिला सभापति बन्नुहुनेछ।
सदस्यदेखि सचिवसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी दाहालले व्यवसायीका समस्या नजिकबाट बुझेको बताउँदै अब नेतृत्वदायी भूमिकामा रहेर समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले आफ्नो चुनावी एजेन्डामा स्थानीय व्यापारीको सुरक्षा, बजार व्यवस्थापन र व्यापार प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुभएको छ। अवैध रूपमा साइकल र मोटरसाइकलमार्फत सामान बिक्री गर्ने ‘पोके व्यापारी’ नियन्त्रण गर्ने, बिग्रिएका CC क्यामेरा मर्मत तथा नयाँ क्यामेरा जडान गरी बजार सुरक्षालाई मजबुत बनाउने योजना उहाँको मुख्य एजेन्डामा रहेको छ।
त्यस्तै, फुटपाथ व्यवस्थापन र बजार सौन्दर्यकरण गरी दमौलीलाई व्यवस्थित व्यापारिक केन्द्र तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि दाहालले अघि सार्नुभएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत व्यापार विस्तार गर्न व्यवसायीलाई फेसबुक, टिकटक तथा अनलाइन प्लेटफर्मसम्बन्धी तालिम दिने योजना समेत समेटिएको छ।


चोरी, आगलागी वा गम्भीर रोगजस्ता आपतकालीन अवस्थामा व्यवसायीलाई आर्थिक राहत र उपचारमा सहयोग गर्ने तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
उम्मेदवारी घोषणा गर्दै दाहालले भन्नुभयो,
“मेरो उम्मेदवारी पदका लागि मात्र होइन, दमौलीका सम्पूर्ण व्यवसायीको हकहित, सुरक्षा र बजारको समग्र रूपान्तरणका लागि हो।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page