केन्द्रीय सदस्य ध्रुव वाग्ले विशेष महाधिवेशनको पक्षमा खुले, तनहुँ कांग्रेसमा भूकम्प
तनहुँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि दबिएर बसेको असन्तोष अब निर्णायक विस्फोटतर्फ उन्मुख भएको छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको एजेन्डामा केन्द्रीय सदस्य ध्रुव वाग्ले समेत खुलेपछी तनहुँ कांग्रेसमा राजनीतिक भूकम्प आएको छ।
केन्द्रीय सदस्य ध्रुव वाग्ले विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा उभिएका छन् । उनको यो कदमलाई तनहुँ मात्र होइन, समग्र कांग्रेस राजनीतिमा गेम चेन्जरका रूपमा हेरिएको छ। ध्रुव वाग्लेजस्तो प्रभावशाली केन्द्रीय नेताको प्रवेशले संस्थापन पक्ष गम्भीर दबाबमा परेको कांग्रेसभित्रै चर्चा छ। यससम्बन्धमा नेता वाग्ले सँग सम्पर्क गर्दा बिशेश महाधिवेशनमा भाग लिन काठमाडौं हिँडेको बताए ।
यसअघि नै तनहुँमा ३५ भन्दा बढी प्रभावशाली कांग्रेस नेता विशेष महाधिवेशनको पक्षमा खुलिसकेका छन्। पार्टी नेतृत्व संकट, संगठन कमजोर बन्दै गएको अवस्था, निर्णय प्रक्रियाको जडता र आन्तरिक लोकतन्त्रको ह्रास अन्त्य गर्न विशेष महाधिवेशन अपरिहार्य भएको उनीहरूको निष्कर्ष छ। अब ध्रुव वाग्लेजस्तो केन्द्रीय नेताको समर्थन थपिँदा तनहुँ कांग्रेस संस्थापनविरोधी केन्द्रका रूपमा स्थापित हुने संकेत देखिएको छ।

विशेष महाधिवेशनको पक्षमा उभिने नेताहरूमा प्रदीप पौडेल, श्यामकुमार मौरती, बैकुण्ठनाथ न्यौपाने, प्रकाश पन्थ, अशोककुमार श्रेष्ठ, सरिता गुरुङ, शान्तिरमण वाग्ले, पवित्रा पौडेल, पुष्पा श्रेष्ठ, चिनु पोख्रेल, खरसिं दरै, रामबहादुर बाँनिया, चन्द्रमाया परियार, नारायणी अधिकारी, विणा कैनी र यमबहादुर आले लगायत छन्।
क्षेत्रीय तहबाट क्षेत्र नं. १ का सभापति श्यामकुमार मौरती र क्षेत्र नं. २ का सभापति चुडामणि खनाल नै खुलेर विशेष महाधिवेशनको पक्षमा उभिनु संस्थापन पक्षका लागि सबैभन्दा ठूलो झड्का मानिएको छ। दुवै सभापतिले अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै पार्टीलाई विशेष महाधिवेशनतर्फ जान खुला आह्वान गरिसकेका छन्।
कांग्रेसका आन्तरिक स्रोतका अनुसार तनहुँ जिल्लाका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूमध्ये ६०–६५ प्रतिशत विशेष महाधिवेशनको पक्षमा छन्। राष्ट्रिय तहमा दाबी गरिएको ५१ प्रतिशत समर्थनभन्दा यो निकै बलियो आँकडा हो। अब ध्रुव वाग्ले, लक्ष्मी सिग्देल र डिल्लीराम अधिकारी जस्ता केन्द्रीय नेताहरू खुल्दा यो समर्थन अझै बढ्ने निश्चितजस्तै देखिएको छ।
महिला, दलित, आदिवासी–जनजाति, युवा र अल्पसंख्यक समुदायको उल्लेखनीय सहभागितासहित तनहुँबाट उठेको यो आवाज अब सामान्य असन्तोष रहेन। राजनीतिक विश्लेषकहरूका अनुसार ध्रुव वाग्लेको प्रवेशसँगै तनहुँ कांग्रेस विशेष महाधिवेशन आन्दोलनको ‘फ्रन्टलाइन’ बन्न पुगेको छ।
अब कांग्रेस नेतृत्वका लागि प्रश्न गम्भीर बनेको छ—
के ध्रुव वाग्लेसहित तनहुँबाट उठेको यो संकेत बेवास्ता गर्न सकिन्छ, कि पार्टीलाई विशेष महाधिवेशनतर्फ जान बाध्य पार्ने निर्णायक मोड यही हो?

























