पराशर माध्यमिक विद्यालयको ३४ औँ वार्षिक उत्सव सम्पन्न

तनहुँ । व्यास नगरपालिका–५ स्थित श्री पराशर माध्यमिक विद्यालयले आफ्नो ३४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम माघ १४ गते बुधबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको समुद्घाटन गर्दै माध्यमिक तह स्थापना भएको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले विद्यालयको भौतिक तथा प्रविधिगत विकासलाई पाठ्यक्रमसँग जोड्दै समयानुकूल प्रविधि कक्षा कोठासम्म पुर्याउन निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले आफ्नै पहलमा स्थापना भएको विद्यालयको प्रगति देख्दा सन्तोष लागेको धारणा व्यक्त गर्नुभयो। त्यसैगरी वडा नं. ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेकोमा धन्यवाद दिँदै अतिरिक्त कक्षाका लागि वडा कार्यालयबाट एक लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।
शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदारराज आचार्यले अभिभावकहरूलाई विद्यालयसँग नियमित सम्पर्कमा रही बालबालिकाको शैक्षिक प्रगतिको विषयमा शिक्षकहरूसँग परामर्श गर्न आग्रह गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयलाई जग्गा व्यवस्थापनमा योगदान पुर्याउने पाटन टोल विकास संस्थाका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ तथा समाजसेवी रञ्जित गिरीलाई सम्मान गरिएको थियो। साथै एसइई २०८१ मा शतप्रतिशत नतिजा ल्याउन योगदान पुर्याउने प्रधानाध्यापक रामदत्त पौडेलसहित विषय शिक्षकहरूलाई सम्मान गरिएको थियो।
विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीहरू, अक्षयकोषदाता, आइसीटी ल्याब सहयोगदाता तथा उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। सो अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक हेम पौडेलले आदित्य राना पौडेल स्मृति अक्षय कोषमा थप एक लाख एक हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नाटक, पिटी प्रदर्शन तथा विद्यार्थी निर्मित शैक्षिक सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक अनिता घिमिरे काफ्ले र शिक्षक कल्पना घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक प्रतिनिधि मञ्जु खनालले राख्नुभएको थियो।
विद्यालय परिवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, संस्था, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पाटन क्षेत्रको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विद्यालयलाई अगाडि बढाउन सबैको सहयोग अपेक्षा गरेको जनाएको छ।


























