माओवादीका जिल्ला सदस्य डम्बर गुरुङ कांग्रेसमा प्रवेश

माओवादीका जिल्ला सदस्य डम्बर गुरुङ कांग्रेसमा प्रवेश


बन्दीपुर, तनहुँ
तत्कालीन नेकपा (माओवादी केन्द्र) का तनहुँ जिल्ला सदस्य (DCM) डम्बर गुरुङले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। शनिबार बन्दीपुर–५ झारगाउँमा आयोजित एक कार्यक्रमका बीच तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो। २०५५ सालदेखि माओवादीमा सक्रिय राजनीति गर्दै आउनुभएका गुरुङले पछिल्लो समय पार्टीले सहिदहरूको सपना लत्याएको र आफ्नो पहिचान समेत जोगाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

पार्टी प्रवेशका क्रममा गुरुङले देश बनाउने शक्ति माओवादीमा नदेखिएको र आफूले लामो समय विचार गरेर मात्रै यो निर्णय लिएको बताउनुभयो। उहाँले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेतृत्व परिवर्तनका लागि देखाएको साहस र तनहुँमा गोविन्द भट्टराईको सादगी एवं इमानदार स्वभावले आफूलाई आकर्षित गरेको उल्लेख गर्नुभयो। नेपालमा गगन थापा र तनहुँमा गोविन्द भट्टराईजस्ता नेताहरूबाट मात्रै वास्तविक रूपान्तरण सम्भव रहेको उहाँको दाबी छ।

काठमाडौँबाट गृहजिल्ला आएलगत्तै कांग्रेसमा समाहित हुनुभएका गुरुङले अब आफू मन, वचन र कर्मले गोविन्द भट्टराईलाई विजयी गराउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तनहुँको विकासका लागि भट्टराईको विकल्प नभएको जिकिर गर्दै उहाँले माओवादीमा रहेका आफ्ना पुराना साथीहरूलाई समेत रुख चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गर्नुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page