लगातार तेस्रो वर्ष पनि शतप्रतिशत नतिजा : दमौली पब्लिक बोर्डिङको ‘ह्याट्रिक’ सफलता

तनहुँ, व्यास । व्यास नगरपालिका–१ स्थित दमौली पब्लिक बोर्डिङ स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा लगातार तेस्रो वर्ष पनि शतप्रतिशत नतिजा हासिल गर्दै सफलता ‘ह्याट्रिक’ गरेको छ । यस वर्ष विद्यालयबाट सहभागी सबै १८ जना विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय परिवारमा उत्साह थपिएको छ ।
दमौली तथा आसपासका संस्थागत विद्यालयहरूमध्ये यसपटक पनि दमौली पब्लिक बोर्डिङले उत्कृष्ट निरन्तरता कायम गरेको हो । लगातार तीन वर्षदेखि शतप्रतिशत नतिजा निकाल्न सफल भएपछि विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक र स्थानीयवासीको विश्वास अझ बलियो बनेको छ ।
यसैगरी कन्काइ बोर्डिङ स्कुल ले पनि उत्कृष्ट नतिजा निकाल्दै सहभागी सबै २७ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
त्यस्तै ब्लुमिङ एकेडेमी बाट सहभागी १४ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् ।
अन्य विद्यालयहरूको नतिजा पनि उत्साहजनक देखिएको छ । बाराही बोर्डिङ स्कुल बाट सहभागी ६६ जनामध्ये ४९ जना उत्तीर्ण भएका छन् भने इन्द्रेणी स्काइ बोर्डिङ का २३ मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भए ।
यस्तै व्यास दिव्य ज्योति बोर्डिङ स्कुल का ६७ मध्ये ५९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सो विद्यालयका एक जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यसैगरी गोरखकाली बोर्डिङ स्कुल का २२ मध्ये १७ जना, ग्रिन स्टार बोर्डिङ स्कुल का १५ मध्ये १३ जना तथा सतिस बोर्डिङ स्कुल का ३० मध्ये २७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष तनहुँ जिल्लाबाट कुल ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । जसमध्ये सत्यवती माध्यमिक विद्यालय बाट ४ जना, व्यास बाेडिङ बाट १ जना, ज्ञानबगैचा बाट १ जना र अरनिको विद्यालय बाट १ जना विद्यार्थी रहेका छन् ।

यसपटकको एसईई नतिजाले तनहुँका विद्यालयहरूबीच गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा बढ्दै गएको संकेत गरेको शिक्षा क्षेत्रका जानकारहरूले बताएका छन् ।


























