म्याग्दे गाउँपालिका–१ गुणादी मा तीन भाइद्वारा नमुना कृषि तथा पशुपालन व्यवसाय
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी मा बामदेव खनालले स्थापना गर्नुभएको “कामधेनु गाईफार्म” अहिले जिल्लाकै नमुना कृषि तथा पशुपालन व्यवसायको रूपमा परिचित बन्दै गएको छ। बुवाले सुरु गर्नुभएको व्यवसायलाई अहिले उहाँका तीन छोरा कृष्ण खनाल, विनोद खनाल र ईश्वर खनालले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।
परम्परागत कृषि प्रणालीलाई आधुनिक सोचसँग जोड्दै उनीहरूले पशुपालन, घाँसखेती र कृषि उत्पादनलाई सँगसँगै अगाडि बढाएका छन्। परिवारको मेहनत, लगनशीलता र एकताले अहिले फार्मलाई सफल व्यवसायको रूपमा स्थापित गरेको स्थानीयवासी बताउँछन्।
कृष्ण खनालका अनुसार फार्मको सुरुवात बुवा बामदेव खनालले दुई वटा गाईबाट गर्नुभएको थियो। “बुवाले सानो रूपमा सुरु गर्नुभएको व्यवसायलाई हामी तीन दाजुभाइले निरन्तरता दिएका छौँ। अहिले गाईपालनसँगै कृषि उत्पादनलाई पनि विस्तार गरेका छौँ,” उनले बताए।
विदेश जाने युवाको संख्या बढिरहेका बेला गाउँमै बसेर मेहनत गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश आफूहरूले दिन खोजेको कृष्णको भनाइ छ। “गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने देखाउन हामी निरन्तर लागिरहेका छौँ,” उनले भने।
फार्ममा उत्पादित दूध, घ्यू लगायतका दुग्धजन्य सामग्री स्थानीय बजारमा बिक्री हुँदै आएको छ। पशुपालनका लागि आवश्यक घाँस तथा परालको व्यवस्थापन पनि आफ्नै खेतबारीमा गरिँदै आएको छ। यसले उत्पादन लागत घटाउन सहयोग पुगेको उनीहरू बताउँछन्।
तीन भाइले व्यवसायलाई व्यवस्थित बनाउन आधुनिक गोठ, पशु आहार व्यवस्थापन तथा कृषि उत्पादनमा नयाँ प्रविधिको प्रयोगसमेत गर्दै आएका छन्। कृषि र पशुपालनलाई एकअर्काको परिपूरक बनाउँदै सञ्चालन गरिएको फार्म अहिले अन्य युवाका लागि समेत प्रेरणाको केन्द्र बनेको छ।

स्थानीयवासीका अनुसार खनाल परिवारले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै कृषि पेशाप्रति युवालाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। मेहनत, अनुशासन र पारिवारिक सहकार्य भए गाउँमै बसेर सफल व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण कामधेनु गाईफार्मले प्रस्तुत गरेको छ।


























