म्याग्दे मेलामा कुराउनी र गुदपाककाे हानाथाप, छोटो समयमै सकियो म्याग्दे सहकारीको उत्पादन

म्याग्दे मेलामा कुराउनी र गुदपाककाे हानाथाप, छोटो समयमै सकियो म्याग्दे सहकारीको उत्पादन

म्याग्दे गाउँपालिकामा सञ्चालन भइरहेको स्थानीय उत्पादन प्रवर्द्धन तथा उद्यम प्रवर्द्धन मेला अन्तर्गत म्याग्दे–१ गुणादी, म्याग्दे–२ जामुनेपछि मंगलबार म्याग्दे–३ धयेरेमा आयोजित कार्यक्रममा पनि स्थानीय उत्पादनप्रति उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ ।
विशेषगरी म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाद्वारा उत्पादन गरिएको कुराउनी र गुदपाक मेलाको मुख्य आकर्षण बनेको छ । स्थानीय स्वादका परिकार खरिद गर्न उपभोक्ताको स्टलमा हानाथाप र छोपाछोपको अवस्था देखिएको थियो ।
सहकारीका अध्यक्ष नवराज घिमिरे का अनुसार मेला सुरु भएदेखि नै कुराउनी र गुदपाकको अत्यधिक माग भइरहेको छ । म्याग्दे–१ र २ मा जस्तै धयेरेमा पनि छोटो समयमै अधिकांश सामग्री बिक्री भएको उनले बताए । “ग्राहकको यति धेरै भिड भयो कि पुर्‍याउनै सकिएन,” उनले भने ।
कुराउनी र गुदपाकसँगै कुल्फी, घ्यु, दही, आइसक्रिम र पनिरको पनि राम्रो बिक्री भइरहेको सहकारीले जनाएको छ । स्थानीय उत्पादनको स्वाद, गुणस्तर र मौलिकताले मेलामा आउने दर्शक तथा उपभोक्तालाई आकर्षित गरेको आयोजकको भनाइ छ ।


वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको मेलामा स्थानीय कृषक, महिला उद्यमी तथा होमस्टेहरूले उत्पादन गरेका अर्गानिक परिकार, रैथाने बाली, हस्तकला तथा घरेलु सामग्रीको पनि प्रदर्शनी तथा बिक्री वितरण भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page