महिला उद्यमीलाई अचार बनाउने सातदिने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

महिला उद्यमीलाई अचार बनाउने सातदिने तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

दमौली। महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा महिला उद्यमीहरूलाई लक्षित गरी सञ्चालन गरिएको सातदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। जेठ ७ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
तालिममा विशेषगरी तेलरहित अचार उत्पादन सम्बन्धी सीप प्रदान गरिएको आयोजकले जनाएको छ। घरायसी परिकारलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै बजारसम्म कसरी पुर्‍याउने, प्याकेजिङ, गुणस्तर व्यवस्थापन र व्यवसायलाई व्यवस्थित ढंगले अगाडि बढाउने विषयमा सहभागीलाई व्यवहारिक प्रशिक्षण दिइएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो। उहाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउँदै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके महिलाको उद्यमशीलता थप मजबुत बन्ने धारणा राख्नुभयो। उहाँले तेलरहित अचार जस्ता स्वास्थ्यमैत्री उत्पादनको बजार सम्भावना राम्रो रहेको उल्लेख गर्नुभयो।
संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मञ्जु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव सरु श्रेष्ठले गर्नुभएको थियो।
तालिममा प्रशिक्षार्थिहरू अमिना खातुन, लिला श्रेष्ठ, आरती लगायतले तालिम बाट धेरै कुराहरू सिक्न पाएकाे बताएका थिए । उक्त तालिमको प्रशिक्षकमा तुलसी शाह रहनुभएको थियो। प्रशिक्षक शाहले विभिन्न प्रकारका अचार बनाउने तरिका, स्वाद र गुणस्तर कायम राख्ने विधि तथा बजारमुखी उत्पादनका बारेमा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
समापन समारोहमा सातदिनसम्म नियमित सहभागिता जनाएका सबै महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट नयाँ ज्ञान र सीप हासिल भएको बताउँदै आगामी दिनमा यसलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजक महिला उद्यमि संघका अध्यक्ष निर्मला मल्लका अनुसार महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउन यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page