रास्वपा तनहुँमा उपसभापति पदमै सबैभन्दा कडा भिडन्त, चार उम्मेदवार मैदानमा

रास्वपा तनहुँमा उपसभापति पदमै सबैभन्दा कडा भिडन्त, चार उम्मेदवार मैदानमा


दमौली, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशनअघि नेतृत्व चयनको प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ। भोलि जेठ २४ गते हुने अधिवेशनका लागि उम्मेदवारी दर्ता भएसँगै पार्टीभित्र चुनावी माहोल तातेको छ।
यसपटक सबैभन्दा बढी चासो उपसभापति पद मा देखिएको छ। दुई पदका लागि पदमराज न्यौपाने (व्यास), विष्णु पन्त (आँबुखैरेनी), किसान प्रधान (बन्दीपुर) र सीता अधिकारी (म्याग्दे) बीच प्रतिस्पर्धा हुने भएपछि उपसभापतिको दौडलाई अधिवेशनकै केन्द्रबिन्दुका रूपमा हेरिएको छ।
चारै उम्मेदवार फरक–फरक पालिकाबाट प्रतिनिधित्व गर्ने भएकाले स्थानीय तहको शक्ति सन्तुलन, संगठन विस्तारमा योगदान र कार्यकर्तामाझको प्रभावले नतिजा निर्धारण गर्ने विश्लेषण गरिएको छ। विशेषगरी व्यास, आँबुखैरेनी, बन्दीपुर र म्याग्दे क्षेत्रका प्रतिनिधिहरू कसको पक्षमा उभिन्छन् भन्ने विषयले चुनावी समीकरणलाई थप रोचक बनाएको छ।
सभापति पदमा भने डा. शेषरमण न्यौपाने र विश्व वास्तोला बीच सीधा प्रतिस्पर्धा हुने भएको छ। सचिवमा दीपक ढकाल र अनिल श्रेष्ठ, तथा सहसचिवमा पदम सुनार र सागर अधिकारी क्षेत्री आमनेसामने छन्।
सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको छ भने तीन जना निर्वाचित हुनेछन्।


उम्मेदवारी दर्तासँगै रास्वपा तनहुँको पहिलो जिल्ला अधिवेशन चुनावमय बनेको छ। तर, नेतृत्व चयनको समग्र प्रतिस्पर्धाभन्दा पनि उपसभापति पदको बहुपक्षीय भिडन्तले कार्यकर्तादेखि प्रतिनिधिसम्मको ध्यान तानेको छ। भोलिको मतदानले कसले बाजी मार्छ भन्ने प्रतीक्षा अहिले सबैमा देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page