भुत्याह बराह क्षेत्र विकासका लागि संरक्षण समिति पुनर्गठन
बन्दीपुर, तनहुँ । बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको भुत्याह बराह क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनका लागि भुत्याह बराह संरक्षण समिति पुनर्गठन गरिएको छ।

नवगठित समितिले भुत्याह बराह क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित विभिन्न योजना अघि सारेको छ। समितिका अनुसार क्षेत्रभित्र वनभोज स्थल व्यवस्थापन, मन्दिरमा नियमित पूजा–अर्चनाको व्यवस्था, खोलाको किनारमा ताल निर्माण, भुत्याह दहमा साहसिक पदमार्ग निर्माण तथा तल्लोटारस्थित नेपालकै ठूलो झण्डा पार्कसम्म जोडिने साहसिक पदयात्रा मार्ग विकास गरिनेछ।

स्थानीयका अनुसार प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले भरिपूर्ण यस क्षेत्रको समुचित संरक्षण र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, नवगठित कार्यसमितिका अध्यक्ष दिपेन्द्रमान श्रेष्ठसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
समाजसेवी बासु पन्तले शुभकामना सन्देशमार्फत भुत्याह बराह क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा धार्मिक–पर्यटन विकासमा नवगठित समितिको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले एकता, समर्पण र सक्रियतामार्फत भुत्याह बराह क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सफल हुने कामना समेत गरेका छन्।




























