महादेव प्रकट भएको विश्वासदेखि महायज्ञसम्म : यस्तो छ माझफाँट शिवालयको इतिहास

महादेव प्रकट भएको विश्वासदेखि महायज्ञसम्म : यस्तो छ माझफाँट शिवालयको इतिहास

दमौली, जेठ २३ — व्यास नगरपालिका–९ माझफाँटस्थित माहेन्द्रेश्वर महादेव मन्दिरमा हुन लागेको महायज्ञले मन्दिरको इतिहास र धार्मिक महत्वलाई पुनः चर्चामा ल्याएको छ।
स्थानीय किम्बदन्तीअनुसार हाल मन्दिर रहेको स्थान नजिकै रहेको एउटा शिलाबाट रातिको समयमा बत्ती बलेझैँ प्रकाश देखिन थालेपछि स्थानीयवासी आश्चर्यमा परेका थिए। त्यसपछि धामी–झाँक्रीमार्फत बुझ्दा उक्त स्थानमा महादेव प्रकट भएको र संरक्षण तथा पूजा गर्नुपर्ने संकेत प्राप्त भएको विश्वास गरिन्छ।
सोही विश्वासका आधारमा उक्त शिला ल्याई २०३५ सालमा मन्दिर स्थापना गरिएको स्थानीय अग्रजहरू बताउँछन्। मन्दिर स्थापनामा युवराज न्यौपानेको प्रमुख भूमिका रहेको थियो। त्यसपछि मनहर्ष आचार्यले नेतृत्व सम्हाले भने हाल संरक्षण समितिको अध्यक्षमा बामदेव न्यौपाने रहेका छन्।
मन्दिर संरक्षण र विकासका लागि अहिले पञ्चमन्दिर निर्माणको योजना अघि बढाइएको छ। यसै उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो।
महायज्ञलाई लक्षित गरी मन्दिर परिसरमा भव्य प्रवेशद्वार निर्माण, मञ्च व्यवस्थापन, प्रचारप्रसार, निमन्त्रणा वितरणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेको छ। महायज्ञ सफल बनाउन स्थानीय युवा तथा समाजसेवीहरू समेत सक्रिय रूपमा खटिएका छन्।

धार्मिक आस्था, स्थानीय एकता र मन्दिर विकासलाई जोड्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञले माझफाँट क्षेत्रलाई थप धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page