मगर इतिहास, पहिचान र भर्ती प्रथामाथि गहन परिचर्चा सम्पन्न

मगर इतिहास, पहिचान र भर्ती प्रथामाथि गहन परिचर्चा सम्पन्न


दमौली, जेठ २४ — नेपाल मगर लेखक सङ्घ जिल्ला समन्वय समिति तनहुँ र नेपाल मगर सङ्घ व्यास नगर समितिको संयुक्त आयोजनामा “मगर इतिहासदेखि भर्तीको फन्दासम्म” विषयक परिचर्चा कार्यक्रम शनिबार व्यास नगरपालिका–३ स्थित नेपाल मगर सङ्घ भवनमा सम्पन्न भएको छ।
कार्यक्रममा अधिवक्ता, लेखक तथा पत्रकार मनोज घर्ती मगरद्वारा लिखित ‘मगरको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकलाई आधार बनाएर कवि, लेखक तथा समालोचक चुनबहादुर राना मगर (स्ट्रगल) ले अवधारणापत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूले मगर समुदायको इतिहास, संस्कृति, पहिचान, भाषा, साहित्य तथा भर्ती प्रथासँग सम्बन्धित विविध पक्षमा गहन छलफल गरेका थिए।
नेपाल मगर सङ्घका केन्द्रीय उपमहासचिव सिद्धबहादुर गर्जा मगर (सिद्धान्त) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मगर समुदायको इतिहास, भाषा, साहित्य र पहिचान संरक्षणका लागि यस्ता बौद्धिक बहस तथा परिचर्चा आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। वक्ताहरूले मगर समुदायसम्बन्धी दस्तावेजीकरण, अनुसन्धान तथा लेखन परम्परालाई सशक्त बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
कार्यक्रममा नेपाल मगर सङ्घकी केन्द्रीय सदस्य बेलिमाया थापा मगर (गीता रखाली), गण्डकी प्रदेशका पूर्व वरिष्ठ उपाध्यक्ष मनिराज थापा मगर, प्रदेश सचिव नन्दु थापा मगर, जिल्ला अध्यक्ष हर्कबहादुर थापा मगर, जिल्ला कार्यसमिति सल्लाहकार यमबहादुर आले मगरलगायत साहित्यकार, बुद्धिजीवी, समाजसेवी तथा मगर समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।
यमलाल थापा र दिलु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल मगर सङ्घ व्यास नगर समितिकी अध्यक्ष दिलुमाया थापा मगरले गरेकी थिइन् भने सञ्चालन नेपाल मगर लेखक सङ्घका जिल्ला सचिव शम्भु थापाले गरेका थिए।


आयोजक संस्थाहरूले कार्यक्रमले मगर इतिहास, पहिचान र साहित्यिक लेखन क्षेत्रमा नयाँ बहसको वातावरण सिर्जना गर्नुका साथै मगर समुदायको इतिहासको दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page