हत्या तथा चोरीका घटनाको सफल अनुसन्धान गर्ने प्रहरी नायब निरीक्षक पौडेल उत्कृष्ट प्रहरी घोषित
पोखरा, असार ९ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रशान्त पौडेललाई २०८३ साल जेठ महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार फलेवास नगरपालिका–५, पर्वतमा भएको हत्या तथा चोरी सम्बन्धी घटनाको सफल अनुसन्धान, अभियुक्त पक्राउ तथा चोरी भएका सुनका गरगहना बरामद गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेबापत पौडेललाई उक्त सम्मान प्रदान गरिएको हो।
पौडेलले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, पक्राउ तथा चोरी गरिएका सुनका गरगहना खरिद गर्ने व्यक्तिसम्म पुगेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउन उल्लेखनीय योगदान दिएका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयले ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८१’ बमोजिम उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ।



























