म्याग्दे ३ तनहुँमै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

म्याग्दे ३ तनहुँमै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा


तनहुँ, — तनहुँको म्याग्दे गाउँपालिका–३ जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटा सूचकहरू पूरा गरेपछि बिहीबार आयोजित विशेष समारोहबीच वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
म्याग्दे ३ का वडा अध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बालमैत्री स्थानीय शासन केवल औपचारिक घोषणा नभई बालअधिकार सुनिश्चित गर्ने दीर्घकालीन अभियान भएको बताउनुभयो। बालबालिकालाई सुरक्षित, स्वस्थ र अवसरयुक्त वातावरण उपलब्ध गराउनु राज्यका सबै निकायको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले म्याग्दे–३ ले जिल्लामै पहिलो बालमैत्री वडा बनेर अन्य स्थानीय तहका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको बताउनुभयो।
उहाँले घोषणा पछि पनि अभियानलाई निरन्तरता दिन, स्थानीय सरकार, विद्यालय, नागरिक समाज तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो। बालमैत्री सूचकहरूको प्रभावकारी कार्यान्वयनले समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
गण्डकी प्रदेशसभा सदस्य श्यामराज महतले बालमैत्री स्थानीय शासन अभियानले बालबालिकाको समग्र विकासलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभयो। बालअधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले म्याग्दे–३ को उपलब्धिले सम्पूर्ण तनहुँ जिल्लालाई गौरवान्वित बनाएको बताउनुभयो।
जिल्ला समन्वय समिति तनहुँका कार्यवाहक प्रमुख बासुदेव थापाले कानुनी व्यवस्था र निर्धारित सूचकहरूको प्रभावकारी कार्यान्वयनमार्फत बालमैत्री अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित वातावरण तथा बाल सहभागितासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। वडा नं. ३ को सफलता सम्पूर्ण गाउँपालिकाकै साझा उपलब्धि भएको उल्लेख गर्दै अन्य वडालाई पनि क्रमशः बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो।
कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी , शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, म्याग्दे गापा उपाध्यक्ष बालकृष्ण घिमिरे , ऋषिङ उपाध्यक्ष गिनुमाया थापा ,सहायक प्रजिअ दिपक रेग्मी , म्याग्दे गापा निवर्तमान अध्यक्ष मायादेवी राना , विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रमका अवसरमा सांस्कृतिक प्रस्तुति, खुसीयाली र्‍याली तथा सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले म्याग्दे गाउँपालिकाले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरी जिल्लामै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएको जानकारी दिनुभयो। बालमैत्री स्थानीय शासन घाेषणा कार्यविधि २०६९ बमोजिम उक्त वडालाइ वालमैत्री स्थानीय साशनयुक्त घाेषणा गर्न जिल्ला समन्वय समितिले अनुमति प्रदान गरेको थियो । उक्त वडामा ५१ वटा सुचक मध्ये ४९ वटा सुचक पूरा भएको र ताेकिएकाे ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेको अधिकारीले जानकारी दिए । उक्त कार्यक्रमकाे सञ्चालन आकाश गुरूङले गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page