ऋषिङको नामाकरण : इतिहास, किंवदन्ती र भाषिक आधार

ऋषिङको नामाकरण : इतिहास, किंवदन्ती र भाषिक आधार


✍️ देवी वस्नेत
तनहुँ जिल्लाको मध्यभागमा अवस्थित ऋषिङ गाउँपालिका प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व, धार्मिक आस्था र सांस्कृतिक विविधताले समृद्ध क्षेत्र हो। तर ‘ऋषिङ’ नाम कसरी रहन गयो भन्ने विषयमा हालसम्म कुनै ठोस ऐतिहासिक प्रमाण उपलब्ध छैन। स्थानीय जनश्रुति, धार्मिक विश्वास, भाषिक अध्ययन तथा सांस्कृतिक परम्पराका आधारमा यस नामको उत्पत्तिबारे विभिन्न मत प्रचलित छन्। तीमध्ये प्रमुख तीन मत विशेष रूपमा उल्लेखनीय छन्।
ऋषि श्रीङ्गीको तपोभूमिबाट ‘ऋषिङ’
सबैभन्दा बढी प्रचलित मान्यताअनुसार रामायणकालीन महान् ऋषि श्रीङ्गी (ऋष्यशृङ्ग) ले ऋषिङ पर्वतमालामा दीर्घकाल तपस्या गरेका कारण यस स्थानको नाम ‘ऋषिलुङ’ रहन गएको र कालान्तरमा अपभ्रंश हुँदै ‘ऋषिङ’ बनेको हो।
ऋषिङ गाउँपालिकाको आधिकारिक वेबसाइटमा पनि यही मान्यताको उल्लेख गरिएको छ। जनविश्वासअनुसार तत्कालीन ऋषिङ राज्यको रानीपोखरीस्थित अजम्बरी कुवा भगवान् रामले आफ्ना भिनाजु ऋषि श्रीङ्गीलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले कालीगण्डकी र सेती नदीको जल मिसिने गरी निर्माण गराएका थिए। देवघाट गाउँपालिका–२ मा रहेको श्रीङ्गा क्षेत्र आज पनि ऋषि श्रीङ्गीसँग सम्बन्धित धार्मिक स्थलका रूपमा चिनिन्छ।
स्थानीय किंवदन्तीअनुसार ऋषि श्रीङ्गीले वर्षको छ महिना ऋषिङको रानीपोखरीस्थित अजम्बरी कुवानजिक तथा बाँकी छ महिना देवघाटको श्रीङ्गा क्षेत्रमा तपस्या गर्ने गर्थे।
वाल्मीकि रामायणमा वर्णित कथाअनुसार अयोध्याका राजा दशरथले पुत्र प्राप्तिका लागि पुत्रकामेष्टि यज्ञ गर्न गुरु वशिष्ठको सल्लाहमा ऋषि श्रीङ्गीलाई आग्रह गरेका थिए। शिवपाञ्चायन मन्दिर, दमौलीका शिक्षक भरत काफ्लेका अनुसार ऋषि श्रीङ्गी आफ्नो तपोभूमिबाट बाहिर जान नसक्ने बताएपछि सराङघाट क्षेत्रमा यज्ञ सम्पन्न गरिएको जनविश्वास पाइन्छ। यस प्रसङ्गले पनि ऋषिङ क्षेत्रलाई ऋषि श्रीङ्गीको तपोभूमिका रूपमा चिनाउन महत्वपूर्ण आधार प्रदान गरेको मानिन्छ।
मगर भाषाको ‘रें–सिन’ बाट ‘ऋषिङ’
दोस्रो मत भाषिक आधारमा प्रस्तुत गरिएको छ। ढुट मगर भाषामा ‘रें’ को अर्थ बेत र ‘सिन’ को अर्थ दाउरा वा काठ भन्ने हुन्छ।
विगतमा ऋषिङ क्षेत्रमा बेत, निगालो तथा बाँसका विभिन्न प्रजातिका वन प्रशस्त थिए। त्यसैले बेतका दाउरा पाइने यस क्षेत्रलाई मगर समुदायले ‘रेंसिन’ भन्न थाले। समयसँगै यही शब्द ‘रिसिन’, ‘रिसिङ’ हुँदै ‘ऋषिङ’ बनेको विश्वास गरिन्छ।
यस मतलाई समर्थन गर्नेहरूले पाल्पा, तानसेन, मादी, मस्र्याङ्दी, मोदी, भेरीजस्ता स्थाननामहरू पनि मगर भाषाबाट विकसित भएको तर्क प्रस्तुत गर्छन्। प्राकृतिक स्रोत, भूगोल र वनस्पतिका आधारमा स्थानको नामकरण गर्ने मगर समुदायको परम्पराले पनि यस मतलाई थप बल पुर्‍याएको देखिन्छ।
‘ऋषिलुङ’ अर्थात् ऋषिले तपस्या गरेको चुचुरो
तेस्रो मत अनुसार ‘ऋषिङ’ नाम ‘ऋषिलुङ’ शब्दबाट विकसित भएको हो। मगर भाषामा ‘लुङ’ ले डाँडाको उच्च शिखर वा ढुङ्गायुक्त चुचुरोलाई जनाउने विश्वास गरिन्छ।
समुद्री सतहबाट करिब १,०६२ मिटर उचाइमा रहेको ऋषिङडाँडाको शिखरमा प्राचीनकालदेखि ऋषिमुनिहरूले तपस्या गर्ने गरेको जनविश्वास छ। त्यसैले उक्त स्थानलाई ‘ऋषिलुङ’ भनियो। पछि उच्चारणका क्रममा ‘ऋषिलुङ’ शब्दको बीचको ‘लु’ लोप हुँदै ‘ऋषिङ’ नाम प्रचलनमा आएको मान्यता रहेको छ।
निष्कर्ष
ऋषिङ नामको उत्पत्तिबारे हालसम्म कुनै प्रमाणित ऐतिहासिक निष्कर्ष प्राप्त नभए पनि स्थानीय जनश्रुति, धार्मिक विश्वास र भाषिक अध्ययनका आधारमा तीन प्रमुख मतहरू स्थापित छन्। पहिलो, ऋषि श्रीङ्गीको तपोभूमिका कारण ‘ऋषिलुङ’ हुँदै ‘ऋषिङ’ बनेको; दोस्रो, मगर भाषाको ‘रें–सिन’ शब्दबाट ‘ऋषिङ’ विकसित भएको; र तेस्रो, ऋषिले तपस्या गरेको उच्च शिखर ‘ऋषिलुङ’ बाट ‘ऋषिङ’ नाम रहन गएको।
यी सबै मतहरूले ऋषिङको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई उजागर गर्छन्। यद्यपि भविष्यमा थप ऐतिहासिक, पुरातात्त्विक तथा भाषावैज्ञानिक अनुसन्धान हुन सके यस नामको वास्तविक उत्पत्तिबारे अझ स्पष्ट निष्कर्षमा पुग्न सकिने अपेक्षा गर्न सकिन्छ।
(लेखक: देवी वस्नेत)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page