कलेस्ती पुलमा बस दुर्घटना, चालकसहित १७ जना घाइते
दमौली, साउन ५ — तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा सोमबार दिउँसो बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। दुर्घटनामा चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो करिब ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थल पुगेर चालकको उद्धार गरेको थियो।
गम्भीर घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ९ जना यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई पनि उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

























