ऋषिङमा जन्मदिनको अवसरमा सुरज श्रेष्ठद्वारा पाँच जना शारीरिक अशक्तलाई विशेष चर्पी हस्तान्तरण
तनहुँ, साउन ५ – आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै ऋषिङ गाउँपालिकाका सुरज श्रेष्ठले शारीरिक रूपमा अशक्त भई सामान्य चर्पी प्रयोग गर्न नसक्ने पाँच जनालाई विशेष प्रकारका कमोड (चर्पी) हस्तान्तरण गरेका छन्।
श्रेष्ठले जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गर्दै अपांगता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सहयोग गरेका हुन्। हस्तान्तरण गरिएका विशेष चर्पीले बस्न र उठ्न कठिनाइ हुने व्यक्तिहरूलाई घरमै सुरक्षित र सहज रूपमा शौचालय प्रयोग गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
सहयोग ग्रहण गर्ने परिवारहरूले यस्तो सहयोगले बिरामी तथा अशक्त व्यक्तिको दैनिक जीवन निकै सहज हुने बताएका छन्।

स्थानीयवासीले पनि जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यो कार्य उदाहरणीय रहेको प्रतिक्रिया दिएका छन्।
सामाजिक सेवामा सक्रिय श्रेष्ठले आगामी दिनमा पनि आवश्यकता भएका नागरिकका लागि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तहमा अपांगता भएका व्यक्तिहरूप्रति सहयोग र संवेदनशीलता बढाउन यस्ता अभियानले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

























