कान्छीबराहीमा चम्किइन् साहसी महिला रोमी आले, साहसिक पर्यटनको नयाँ सम्भावना उजागर

कान्छीबराहीमा चम्किइन् साहसी महिला रोमी आले, साहसिक पर्यटनको नयाँ सम्भावना उजागर

तनहुँ, साउन १० — तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण कान्छीबराही झरना अब साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा परिचित हुन थालेको छ। शनिबार वडा कार्यालयको समन्वय तथा फन नेभर इन एडभेन्चर नेपाल को प्राविधिक व्यवस्थापनमा पहिलोपटक आयोजना गरिएको क्यानोनिङ कार्यक्रममा १५ जनाले सहभागिता जनाएका थिए। सहभागीमध्ये व्यास नगरपालिका–४, दमौली निवासी रोमी आले एक्ली महिला थिइन्।
करिब १०० मिटरभन्दा बढी उचाइको झरनाबाट सुरक्षित उपकरण र डोरीको सहायताले गरिएको क्यानोनिङ सफलतापूर्वक सम्पन्न गर्दै रोमी आलेले सबैको ध्यान आकर्षित गरिन्। १२ वर्षपछि पुनः क्यानोनिङमा सहभागी बनेकी उनले यसअघि जलबिरे , भिमाद र छाब्दी क्षेत्रका झरनामा पनि यस्तो साहसिक खेलको अनुभव लिइसकेकी छन्।
“सुरुमा अलिकति डर र कौतुहलता थियो। तलबाट हेर्दा भन्दा झरना धेरै ठूलो र चुनौतीपूर्ण रहेछ। बीचमा केही गाह्रो भए पनि सफलतापूर्वक पूरा गरेपछि निकै खुसी लाग्यो,” उनले प्रतिक्रिया दिइन्।
उनले कान्छीबराही झरना साहसिक पर्यटनका लागि अत्यन्त सम्भावना बोकेको स्थान भएको बताउँदै स्थानीय सरकारले सडक, पदमार्ग, सुरक्षा र अन्य पूर्वाधारमा लगानी गरे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण बन्न सक्ने विश्वास व्यक्त गरिन्।
पृथ्वी राजमार्गअन्तर्गत खैरेनी–भीमाद सडकखण्डको थाग्दीबाट करिब डेढ किलोमिटर दूरीमा रहेको कान्छीबराही झरना हरियाली जंगल, चट्टानी भीर र मनमोहक प्राकृतिक वातावरणका कारण पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ। फोटो, भिडियो र टिकटक बनाउन पुग्ने पर्यटकका लागि अब क्यानोनिङले नयाँ आकर्षण थपेको छ।
म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिव आले ले कान्छीबराही झरनालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले क्यानोनिङ कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार यस्ता गतिविधिले स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
फन नेभर इन एडभेन्चर नेपाल का अध्यक्ष तथा सञ्चालक दिपक सुनार ले कान्छीबराही झरना क्यानोनिङका लागि अत्यन्त उपयुक्त रहेको बताउँदै भविष्यमा साहसिक पर्यटकको प्रमुख रोजाइ बन्न सक्ने विश्वास व्यक्त गरे। उनले सुरक्षित उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनसहित पर्यटकलाई निर्धक्क भएर क्यानोनिङको अनुभव लिन आउन आग्रह गरे।
फन नेभर इन एडभेन्चर नेपालले यसअघि तनहुँको भीमाद–५ स्थित आँटीठाप झरना तथा प्रसिद्ध धार्मिकस्थल छाब्दीबराही मन्दिर नजिक कुलुङ क्षेत्रमा समेत सफलतापूर्वक क्यानोनिङ सञ्चालन गरिसकेको छ।
एक्ली महिला सहभागीका रूपमा चुनौतीपूर्ण क्यानोनिङ सफलतापूर्वक सम्पन्न गरेकी रोमी आलेको साहस अहिले सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म प्रशंसाको विषय बनेको छ। उनको सहभागिताले महिलाहरू पनि साहसिक खेलकुदमा अग्रपङ्क्तिमा उभिन सक्ने सन्देश दिएको छ। साथै कान्छीबराही झरनाले प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको नयाँ केन्द्र बन्ने बलियो सम्भावना देखाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page