दमौलीमा विप्लव : ओली–प्रचण्डको एकता ‘क्षणिक मिलन’, रास्वपामाथि पनि प्रहार

दमौलीमा विप्लव : ओली–प्रचण्डको एकता ‘क्षणिक मिलन’, रास्वपामाथि पनि प्रहार

तनहुँ, साउन १० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको पछिल्लो सहकार्यलाई ‘क्षणिक मिलन’ को संज्ञा दिएका छन्।
दमौलीमा आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै विप्लवले “दुश्मनले घेर्न थालेपछि अहिले मिल्ने अवस्था आएको हो” भन्दै यस्तो सहकार्य दीर्घकालीन नहुने दाबी गरे।
उनले नेकपा (माओवादी केन्द्र) अहिले राजनीतिक रूपमा अलमलमा परेको र स्पष्ट गन्तव्यविहीन अवस्थामा रहेको आरोप लगाए। जनताका सपना, दुःख र आकांक्षालाई बोकेर अघि बढेको आन्दोलन अहिले आफ्नो मूल बाटोबाट विचलित हुँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
विप्लवले आफ्नै पार्टीका जिल्ला नेता निसानले पार्टी छाडेको प्रसंग पनि उठाउँदै ठट्यौली शैलीमा टिप्पणी गरे। बन्दीपुरमा सञ्चालन गरिएको बाख्रापालन कार्यक्रमको प्रसंग जोड्दै उनले व्यंग्यात्मक अभिव्यक्ति दिएका थिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ संकेत गर्दै उक्त पार्टी पनि चाँडै विभाजनको जोखिममा रहेको दाबी गरे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेकाे राजीनामाको चर्चा, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग जोडिएका विषय र राजनीतिक नैतिकताका प्रश्न उठाउँदै उनले यस्तो टिप्पणी गरे। साथै,वाग्लेले राजीनामा नदिई बालेनलाई हटाएर रवि लामिछानेलाई अघि ल्याउने प्रयास भइरहेको भन्ने आरोपसमेत लगाए।
विप्लवले राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र, समाजवादी रूपान्तरण र जनताको समृद्धिलाई आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्दै देशको विकास आफ्नै स्रोत, साधन र श्रमको अधिकतम उपयोगबाट सम्भव हुने बताए। उनले राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउनुपर्ने र नेपाली सेनाले सीमा सुरक्षामा सक्षम भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राखे।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)की सूचना विभाग केन्द्रीय सदस्य सावित्री दुरा, गण्डकी प्रदेश संयोजक आजाद तथा जिल्ला सचिवालय सदस्य ओमविक्रम पन्त लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page