जनता मोटरमार्गको नयाँ कार्यसमिति गठन, गोविन्द खनाल अध्यक्ष चयन
तनहुँ, साउन १० — बन्दीपुर गाउँपालिका–१ नाहालादेखि वडा नं. ३ हुँदै व्यास नगरपालिका–१२ छाब्दी बाराही मन्दिर जोड्ने जनता मोटरमार्गको नयाँ कार्यसमिति गठन गरिएको छ।
शनिबार सम्पन्न जनता मोटरमार्ग उपभोक्ता भेलाले गोविन्द खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिको उपाध्यक्षमा सुकबहादुर थापा, सचिवमा सन्तोषबहादुर खत्री, कोषाध्यक्षमा दिल्लीकुमारी गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ध्रुव रावल, माधवराज शर्मा, लक्ष्मी पोखरेल, ऋषिराम खिमिरे र हरिमाया अधिकारी सर्वसम्मत चयन भएको सचिव खत्रीले जानकारी दिए।
भेलाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मोटरमार्गको निर्माण तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आग्रह गरेको छ।
बन्दीपुर गाउँपालिका–१ देखि वडा नं. ३ सम्मको जनता मोटरमार्गको स्तरोन्नति तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि आवागमन सहज हुनुका साथै स्थानीय विकास, धार्मिक पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, स्थानीयवासीहरूले नवनिर्वाचित अध्यक्ष गोविन्द खनालसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाई व्यक्त गरेका छन्।

























