२३ वर्षीया कृति सुनारको साहस : कान्छीबराही झरनामा पहिलो क्यानोनिङ सफल गर्ने युवती

२३ वर्षीया कृति सुनारको साहस : कान्छीबराही झरनामा पहिलो क्यानोनिङ सफल गर्ने युवती


तनहुँ, साउन १० — तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित कान्छीबराही झरनामा पहिलोपटक गरिएको क्यानोनिङ परीक्षणमा २३ वर्षीया कृति सुनार सफल भएकी छन्। शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटार (ओख्लेटोल) निवासी कृतिले पहिलोपटक यति ठूलो साहसिक खेलमा सहभागी हुँदै चुनौतीपूर्ण झरनाबाट सुरक्षित रूपमा क्यानोनिङ पूरा गरेकी हुन्।
करिब १०० मिटरभन्दा बढी उचाइको कान्छीबराही झरनामा वडा कार्यालयको समन्वय तथा फन नेभर इन एडभेन्चर नेपालको प्राविधिक व्यवस्थापनमा सम्पन्न परीक्षणमा १५ जनाले सहभागिता जनाएका थिए। सहभागीमध्ये कृति सुनारको सफल सहभागिताले विशेष चर्चा पाएको छ।
यसअघि यस्तो साहसिक खेलमा अनुभव नभएकी कृतिले आत्मविश्वास, साहस र प्राविधिक टोलीको सहयोगका कारण परीक्षण सफलतापूर्वक पूरा गरिन्। उनले आफूले सुरुमा केही डर महसुस गरे पनि आवश्यक सुरक्षा सामग्री र प्रशिक्षकको निर्देशनका कारण आत्मविश्वासका साथ झरना पार गर्न सफल भएको बताइन्।
कृतिको सफलताले विशेषगरी ग्रामीण क्षेत्रका युवती एवम् महिलालाई साहसिक पर्यटनमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ। परम्परागत सोचभन्दा बाहिर निस्केर महिलाले पनि जोखिमपूर्ण र चुनौतीपूर्ण साहसिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण कृतिले प्रस्तुत गरेकी छन्।
म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिव आलेले कान्छीबराही झरनालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने अभियानमा युवायुवती र महिलाको सक्रिय सहभागिता उत्साहजनक रहेको बताए। उनले कृतिजस्ता युवाको सहभागिताले पर्यटन प्रवर्द्धनसँगै महिला सशक्तीकरणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे।


कान्छीबराही झरनामा सम्पन्न पहिलो क्यानोनिङ परीक्षणले यस क्षेत्रलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने आधार तयार पारेको छ। त्यसमध्ये कृति सुनारको साहस र सफलताले यो अभियानलाई अझ प्रेरणादायी बनाएको स्थानीयवासीको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page