भानु नगरपालिकाकाे पदाधिकारी सुविधामा १ करोड ६३ लाख र विविधमा २४ लाखभन्दा बढी खर्च !
दमौली, साउन ११ — भानु नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पदाधिकारी सुविधा शीर्षकमा रु. १ करोड ५६ लाख ५३ हजार र पदाधिकारी बैठक भत्तामा रू ७ लाख १३ हजार समेत रू १ करोड ६३ लाख ६६ हजार खर्च गरेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको भानु नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी व्यवस्थाअनुसार खर्च गरिएको हो। प्रतिवेदनमा पदाधिकारी सुविधा शीर्षकमा भएको खर्च नगरपालिकाको आन्तरिक आयको ६२.८३ प्रतिशत बराबर रहेको उल्लेख गरिएको छ।
यस्तै, नगरपालिकाले सोही आर्थिक वर्षमा विविध खर्च शीर्षकमा रु. २४ लाख ५५ हजार ७५८ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३(६) अनुसार यस्ता खर्च नियमितता, मितव्ययिता, कार्यकुशलता, प्रभावकारिता तथा औचित्यका आधारमा गर्नुपर्ने व्यवस्था रहेको प्रतिवेदनले स्मरण गराएको छ।
प्रतिवेदनअनुसार विविध खर्च शीर्षकअन्तर्गत खाजा, खाना, अतिथि सत्कार, बैठक व्यवस्थापनलगायत प्रशासनिक प्रकृतिका खर्च समावेश हुने भए पनि उक्त खर्चको विस्तृत शीर्षकगत विवरण भने खुलाइएको छैन।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउँदै पदाधिकारी सुविधा तथा विविध खर्चलाई आवश्यकतामा आधारित, पारदर्शी र औचित्यपूर्ण बनाउन नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

























