म्याग्दे गाउँपालिकाको वार्षिक समीक्षा तथा बजेट–नीति सार्वजनिक, उत्कृष्ट कर्मचारीदेखि उपभोक्ता समितिसम्म सम्मानित

दमौली, साउन ११। म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विकास निर्माण, सेवा प्रवाह र आगामी योजनाबारे विस्तृत समीक्षा प्रस्तुत गरिएको हो।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपाली प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, निवर्तमान अध्यक्ष मायादेवी राना, जनप्रतिनिधि, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, कर्मचारी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले हासिल गरेका उपलब्धि, सञ्चालन भएका विकास आयोजना, सातवटै वडामा गरिएको क्षेत्रगत बजेट विनियोजन, पूँजीगत योजनाको प्रगति तथा आगामी आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने प्राथमिकताका योजना र कार्यक्रमबारे विस्तृत जानकारी गराएका थिए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, रोजगारी तथा सामाजिक विकासका क्षेत्रमा गाउँपालिकाले गरेका काम र आगामी वर्षका लक्ष्य प्रस्तुत गर्दै उपलब्ध स्रोत र साधनलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने जनप्रतिनिधि, कर्मचारी, बैंक तथा उपभोक्ता समितिलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा वडा नं. ३ का वडा अध्यक्ष टुकराज अधिकारी, आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपाने, शिक्षा तथा खेलकुद शाखा प्रमुख विष्णु खत्री, पशु सेवा शाखा प्रमुख मुक्तिराम पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख शिवजी थापा, स्वास्थ्य शाखाकी पार्वती श्रेष्ठ, वडा सचिवतर्फ वडा नं. ५ की बिमला गैरे, वडा प्राविधिक कर्मचारीतर्फ स ई विज्ञान पौडेल, कृषि प्राविधिक टिका खत्री, रोजगारमुखी कार्यक्रमतर्फ लोकराज ढकाल, सवारी चालकतर्फ निरबहादुर राना, कार्यालय सहयोगीतर्फ महेन्द्रकुमार श्रेष्ठ, वडा कार्यालय सहयोगीतर्फ वडा नं. ४ का समुन्द्र थापा तथा वडा नं. ३ की सुमित्रा श्रेष्ठ रहेका छन्।
त्यसैगरी म्याग्दे–४ का हितमान कायस्थका छाेरा नेपाली सेनाका प्रमुख सेनानी लेफ्टिनेन्ट कर्णेल हरेराम कायस्थ, म्याग्दे उद्योग–वाणिज्य संघका शुन्दर मणी अधिकारी, मरणोपरान्त महिला स्वास्थ्य स्वयंसेविका दानुमाया राना (उनका श्रीमान् प्रेमबहादुर आलेमार्फत) सम्मानित भएका छन्।
बैंकिङ सेवातर्फ लक्ष्मी सनराइज बैंक (थर्पु), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (जामुने), कुमारी बैंक (जामुने), एनआईसी एशिया बैंक (भिमाद) तथा ज्योति विकास बैंक (थर्पु) सम्मानित भए।
त्यस्तै उपभोक्ता समितितर्फ बाराही लिफ्टिङ खानेपानी उपभोक्ता समिति (वडा नं. १), डुम्रीडाँडा मोटरमार्ग उपभोक्ता समिति (वडा नं. २) का अध्यक्ष लालबहादुर थापा, तिलाहार नाला निर्माण उपभोक्ता समिति (वडा नं. ३) की अध्यक्ष लालुमाया थापा तथा थर्पु खानेपानी सरसफाइ उपभोक्ता समिति (वडा नं. ४) का उपाध्यक्ष गणेशमान श्रेष्ठ सम्मानित भएका छन्।
प्रमुख अतिथि मन्त्री गोविन्दबहादुर नेपालीले स्थानीय सरकारको प्रभावकारी योजना कार्यान्वयनले नागरिकको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विकास निर्माणका काममा प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाले विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनमुखी, उत्पादनमुखी र दीगो विकासमा केन्द्रित रहेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटले गाउँपालिकाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रमकाे सञ्चालन याेजना शाखा प्रमुख श्रीराम खनालले गरेका थिए ।

























