बालमैत्री वडा घोषणा गर्दै उत्कृष्ट सेवा प्रवाह गरेपछि वडा अध्यक्ष टुकराज अधिकारी सम्मानित
साम्राज्ञी पाण्डे

१२ (तनहुँ)। म्याग्दे गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक टुकराज अधिकारी उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित हुनसभएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा सोमबार उनलाई दोसल्ला, सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।

वडा नं. ३ लाई गाउँपालिकामै पहिलो बालमैत्री वडा घोषणा गराउन सफल भएको, नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रवाह गरेको तथा वडाको समग्र विकासमा प्रभावकारी नेतृत्व प्रदान गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए।
गाउँपालिकाका अनुसार वडा नं. ३ ले बालअधिकार संरक्षण, बालमैत्री स्थानीय शासन, शिक्षा, सरसफाइ, स्वास्थ्य, बाल सहभागिता तथा सुरक्षित वातावरण निर्माणका सूचकहरू पूरा गर्दै गाउँपालिकामै पहिलो बालमैत्री वडा घोषणा गर्ने सफलता हासिल गरेको हो। यस उपलब्धिले अन्य वडालाई पनि बालमैत्री स्थानीय शासनको अभियानमा सक्रिय रूपमा अघि बढ्न प्रेरणा दिएको छ।
वडा अध्यक्ष अधिकारीले निर्वाचित भएदेखि नै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विकास निर्माण, सामाजिक उत्तरदायित्व र जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्दै आएका छन्। वडावासीका गुनासा तत्काल सम्बोधन गर्ने, विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्ने तथा स्थानीय आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने कार्यशैलीका कारण उनी नागरिकमाझ लोकप्रिय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गोविन्दबहादुर नेपालीले स्थानीय तहमा उत्कृष्ट काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई सम्मान गर्ने परम्पराले सुशासनलाई थप मजबुत बनाउने बताए। उनले नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गर्न सबै जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दै परिणाममुखी काम गर्ने संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गरे।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकाले कार्यसम्पादनका आधारमा सम्मान गर्ने अभ्यासलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए। उत्कृष्ट काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक रूपमा सम्मान गर्दा संस्थाभित्र सकारात्मक प्रतिस्पर्धा सिर्जना हुने र सेवाको गुणस्तर अझ सुधार हुने उनको भनाइ थियो।
यसै अवसरमा गाउँपालिकाका उदोग, पर्यटन, सहकारी तथा आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने सहित विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको थियो। गाउँपालिकाले कर्मचारीहरूको इमान्दारिता, जिम्मेवारीबोध र सेवामुखी कार्यशैलीको कदर गर्दै सम्मान प्रदान गरेको जनाएको छ।
बजेट सार्वजनिक कार्यक्रमसँगै सम्पन्न सम्मान समारोहले उत्कृष्ट काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई थप उत्साह र जिम्मेवारीका साथ काम गर्न प्रेरणा मिल्ने विश्वास गाउँपालिकाले गरेको छ। स्थानीय सरकारको सफलता जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यमा निर्भर रहने उल्लेख गर्दै गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि सुशासन, गुणस्तरीय सेवा प्रवाह र समावेशी विकासलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबदता जनाएको छ।
























