राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाटै वितरण गरिने
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई स्थगित गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै परिचयपत्र वितरण कार्य रोकिएको जनाएको हो । कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्र जिल्लाका संम्बन्धित पालिकामा पठाई पालिकाबाटै वितरण गर्ने कार्यका लागि पूर्व तयारी भइरहेकाे जिल्ला प्रशासन कार्यालय तनहुँले सुचना जारी गरि बताएको छ ।

प्राप्त सुचना अनुसार अर्को सूचना जारी नभएसम्मका लागि वितरण कार्य स्थगित गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।
राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले जानकारी दिए ।

नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताइएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७ सय १ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।
























