तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको पराशर माध्यमिक विद्यालय भवन हस्तान्तरण

तनहुँ जलविद्युत आयोजनाले निर्माण गरेको विद्यालय भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
व्यास ५ को पाटनमा सो आयोजनाले निर्माण गरेको पराशर माध्यमिक विद्यालयको नवनिर्मित भवन व्यास नपालाई हस्तान्तरण गरिएको हो ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई भवन हस्तान्तरण गरेका थिए । १ करोड ३५ लाख ५७ हजार ७ सय ६७ रुपैयाको लागतमा निर्मित उक्त ८ कोठे पक्की भवन व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताए ।
१ सय ४० मेघावट क्षमताको आयोजनाले नवनिर्मित भवन हस्तान्तरण गरेको भरपाई नगरपालिकालाई गराएको छ, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँ जलविद्युत आयोजनाका उपप्रबन्धक गुञ्जन आत्रेया, गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिका आचार्य, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेल, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, व्यास ५ का वडा अध्यक्ष विष्णुकमार श्रेष्ठ(हिमाल) नगर शिक्षा अधिकारी केदारराज आचार्य लगायतका बक्ताहरुले उक्त भवन निर्माण भए पछि विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने बताएका थिए ।
सोही अवसरमा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । सो भवन निर्माण भए पछि गरिव, निमुखा ३ सय भन्दा विद्यार्थीहरु लाभान्वित हुने बताइएको छ ।
कार्यक्रममा विद्यालयका प्रअ पौडेलले हालसम्मको विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्था बारे जानकारी गराएका थिए ।
























