तनहुँमा अफ्रिकन स्वाइन फिभर राेगबाट १६ वटा बंगुर मरे

तनहुँमा अफ्रिकन स्वाइन फिभर राेगबाट १६ वटा बंगुर मरे

तनहुँमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । विगत एक महिना अघिदेखि तनहुँमा यो रोग देखा पर्न थालेको हो ।
जिल्लामा १६ वटा बंगुर मरिसकेको र २२ वटा बंगुर बिरामी परेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. राजेश चौधरीले बताए । भिमाद नगरपालिका त्यस रोगबाट सबैभन्दा बढी प्रभावित भएको प्रमुख चाैधरीले जानकारी दिए । भिमादमा १९ वटा बँगुरमा संक्रमण देखिएकोमा १४ वटा बंगुर , शुक्लागण्डकी नगरपालिकामा दुई वटामा संक्रमण देखिएकोमा दुई वटै गरी १६ बंगुर मरिसकेका छन् ।


जिल्लाका दस पालिकामध्ये तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएको हाे । प्रमुख डा. चौधरीका अनुसार तनहुँका भिमाद, शुक्लागण्डकी र व्यास नगरपालिका गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट प्रभावित भइसकेको छ । सो संक्रमणले गर्दा बंगुर मर्न थालेपछि व्यावसायिक किसान चिन्तित भएका छन् । भिमाद नगरपालिका–६ का भूमिमाया आलेले चार वटा बंगुर एकैचोटी मरेको बताइन् । आलेले भनिन्, “दुःख गरी पालेको बंगुर मरे अब परिवार कसरी पाल्ने भन्ने चिन्ता परेको छ ।’
अफ्रिकन स्वाइन फिभर रोग किर्नाको टोकाईबाट, दुषित दानापानीबाट , संक्रमित भाँडाकुडा तथा कपडाबाट र संक्रमित सुईबाट रोग सर्ने हुँदा सतर्कता अपनाउनु पर्ने र महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई केन्द्रले आग्रह गरेको छ । बाह्य मानिसलाई फार्ममा जान नदिन र बंगुर तथा सुँगुर ओसार पसारमा प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान थालेको छ । पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा. चौधरीले बताए । उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले संक्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन भनिएको छ । सो रोगले बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट कानमा रगतका धब्बा देखा पर्ने , एकै पटक धेरै सुँगुर बँगुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखा पर्छ । प्रयोगशालामा नमूना परीक्षण गर्नेक्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको चौधरीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page