तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप २४ जना पक्राउ
गत शुक्रबार राजावादी समूहहरूले काठमाडौंकाे तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ ।

यसअघि ४१ जनालाई पक्राउ गरी अदालतबाट अनुसन्धानको लागि म्याद थपको अनुमति लिइसकेको प्रहरीले थप २४ जनालाई पक्राउ गरेको हाे । यसअघि पक्राउ परेका मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइने तयारी भइरहेको छ ।

उक्त हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले निजी भवन, व्यवसायिक भवन, सरकारी सम्पत्ति र व्यवसायस्थलमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले सो प्रदर्शनमा कमाण्डर बनाएको दुर्गा प्रसाईँ भने अझै फरार छन् ।
























