भानु नगरपालिकामा आज देखि प्रत्येक हप्ताको शनिबार हाटबजार संचालन

तनहुँकाे भानु नगरपालिकामा आजदेखि प्रत्येक हप्ताको शनिबार कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार संचालन सुरु भएकाे छ ।
“कृषि उत्पादन बढाऔं आत्म निर्भर बनाैं, अर्गानिक उत्पादनमा जाेड दिऔं ” भन्ने नाराका साथ संचालन सुरु गरिएको हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन हुने छ भने कृषकहरुलाई आ-आफ्नो उत्पादन बिक्री केन्द्र भानु २ नारेश्वरटारमा ल्याउन कृषि तथा पशुपंक्षी शाखाले अनुराेध गरेकाे छ । हाटबजारमा कृषकले उत्पादन गरेका स्थानीय उत्पादनहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ । हाटबजारकाे भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शुभारम्भ गरेका छन् ।

नगरपालिकाले संचालन गरेकाे हाटबजारले कृषकलाई उत्पादनमा प्राेत्साहन गरि स्थानीय उत्पादनलाई बढवा गर्ने र उपभोक्ताले पनि राेजेकाे र चाहेकाे कृषि उपज सहज रुपमा खरिद गर्न सक्ने बनाउने उदेश्य रहेकाे नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । हाटबजारले कृषक र उपभोक्ता बीच पुलकाे काम गर्ने विश्वास नगरपालिकाले लिएको नगर प्रमुख त्रिपाठीकाे भनाइ छ ।
नगरपालिकाले आवश्यकतानुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना समेत बनाइसकेको छ, जसले कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचमा गुणस्तरीय सामग्री उपलब्ध गराउने लक्ष्य राखेकाे नगर उप प्रमुख उमा गाेतामेले बताइन् ।
हाटबजारमा सम्पूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई यो हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रुपमा संचालन गर्न आवश्यक सहयोग र सहकार्यको लागि कृषि तथा पशुपंक्षी शाखाले अनुराेध गरेकाे छ ।
नगरपालिकाले भानु ९ काे बाईसजँगारमा पनि हाटबजार संचालन गर्ने तयारी गरेकाे छ । फाेटाे राजेश कार्की

























