बन्दीपुरमा हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम हुने

बन्दीपुरमा हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम हुने

पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम हुने भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि मनोरन्जन प्रदान गर्न साप्ताहिक सांस्कृतिक कार्यक्रम सुरु गर्न लागिएको हो।
सांस्कृतिक कार्यक्रममा कौरा, चुड्का, घाटु, लाखे नाच सहितको रोधी साँझ समावेश गरिनेछ । “स्थानीय संस्कृति र परम्परालाई पर्यटकहरूमाझ प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्षेत्रीय हाेटल संघ तनहुँ बन्दीपुर बजार इकाई सभापति फुलमती थापाले बताइन् ।

यसैबीच, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैँशबहादुर गुरुङले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको जानकारी दिए। “हरेक महिना दुई वा सोभन्दा बढी कार्यक्रम आयोजना भइरहेका छन्,” उनले भने ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सन् २०२५ मा करिब ५ लाख पर्यटक बन्दीपुर भित्र्याउने लक्ष्य रहेको जानकारी दिए। “जसमा १ लाख बाह्य तथा अन्य आन्तरिक पर्यटक भित्र्याउने योजना रहेको छ ।

बन्दीपुर प्राचीन पुरातात्विक सम्पदाले भरिपूर्ण गन्तव्य हो । यहाँको टुडिखेल, शहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र बिन्दबासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीबन, तीनधारा पिकनिक स्पट, रामकोट, गुम्बा, कुरीखा होमस्टे, धरमपानी, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङ लगायत जातजातिका सांस्कृतिक भेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षण बनेका छन्। हिमालको लहर एकै फ्रेममा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरू बन्दीपुरमा रमाउने गरेका छन्।

यहाँ होटल व्यवसाय समेत तीव्र गतिमा विस्तार भइरहेको छ । होटल संघमा आवद्ध ८० भन्दा बढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा रहेको क्षेत्रीय हाेटल संघ तनहुँका प्रथम उपाध्यक्ष बिपीन प्रधानले बताए । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको उनलेे जानकारी दिए ।

डुम्रे बजारबाट करिब ८ किमीको यात्रा पछिको बन्दीपुर बजारमा हाल केवलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । केवलकार सेवाले ७ मिनेटमै पर्यटकलाई बन्दीपुर पु¥याउने हुँदा आवागमन थप सहज भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page