जिल्ला प्रशासन तनहुँमा बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपी सेवा उपलब्ध हुने

जिल्ला प्रशासन कार्यालय तनहुँबाट भाेली बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपीकाे सेवा सुरु हुने भएको छ । २४ गते घटेकाे दुखद् घट्नामा जिल्ला प्रशासन कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट कार्यालयको भौतिक संरचना, कार्यालय उपकरण, फर्निचर तथा अभिलेखहरु जली नष्ट भएकाेले सबै सेवाहरू ठप्प रहेका थिए । यस असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत रुपमा संचालन गर्न कार्यालयका तर्फबाट अधिकतम प्रयास भईरहेको कार्यालयले जनाएको छ।

कार्यालयका प्रशासकिय अधिकृत बिकास श्रेष्ठ द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ -हालको विषम परिस्थितिमा यस कार्यालयबाट पूर्ववत् रुपमा सेवा सञ्चालन नहुँदासम्मको लागि अत्यावश्यक परेको अवस्थामा देहायका सेवा प्राप्त गर्न देहाय बमोजिम गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

क. शान्ति सुरक्षा सम्बन्धित सेवाहरु यस कार्यालयबाट नियमित रुपमा सम्पादन भई रहेको।
ख. मिति २०८२।०६।०२ गतेबाट नयाँ नागरिकता तथा नागरिकता प्रतिलिपि सम्बन्धी सेवाहरु सूचारु हुने ।
ग. आदिवासी/जनजाती, दलित, खस आर्य तथा मुस्लिम प्रमाणित तथा दुई नामथर प्रमाणित सम्बन्धी सेवाहरु नियमित रुपमा सूचारु भएको ।
घ. राहदानी सम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागको सम्पर्क नं. ०१-५९७०३३० मा सम्पर्क गरी जानकारी लिनुहुन तथा राहदानी विभागबाट कम्प्युटर लगायतका विद्युतिय राहदानीका लागि आवश्यक उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राहदानी सम्बन्धी सेवा सञ्चालन गरिने ।
ङ. राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सम्पर्क नं. ०१-४२०००१४, ०१-४२११५६३ वा सूचना अधिकारीको सम्पर्क नं. ९८५१३५७३६२ मा सम्पर्क गरी जानकारी लिनुहुन, साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण दर्ताका लागि आवश्यक पर्ने कम्प्युटर लगायतका उपकरणहरु कार्यालयमा प्राप्त भए पश्चात राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन गरिने ।
च. सेवा प्रवाह सम्बन्धी थप जानकारीका लागि यस कार्यालयबाट नियमित रुपमा सूचना प्रकाशन गरी जानकारी गराईने ।
























