प्रहरीलाई उच्च मनाेबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् ।

जेनजी आन्दोलनपछि क्षतिग्रस्त काठमाडौंका केही प्रहरी कार्यालयको निरीक्षणपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू ड्युटीमा तैनाथ हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘तपाईँहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।’
उनले आफू शाकाहारी भएको र स्वभावतः अहिंसावादी भएको भन्दै प्रहरीलाई पनि अहिंसावादी शैलीमै पेश हुन निर्देशन दिए ।
























