जलेर ध्वस्त भएको जिल्ला प्रशासनलाई सुप्रिम सहकारी थर्पुकाे सहयोग

जेनजी आन्दाेलनका क्रममा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँलाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था थर्पुले सहयोग गरेको छ । सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ५० हजार भन्दा बढी मुल्यकाे सामाग्री सहयोग गरेको हाे । सहकारीले अफिस दराज , अफिस टेबुल र अफिस कुर्सी ( घुम्ने ) हस्तान्तरण गरेको सहकारीका अध्यक्ष मनाेज अधिकारीले बताए ।

जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ दमौलीका अफिस लगायत उपकरणसहितका सम्पूर्ण सामग्री जलेर नष्ट भएको र कार्यालय सञ्चालनमै समस्या भएको अवस्थामा सहकारीले सहयोग गरेको हाे । जिल्ला प्रशासन जस्तो जनताको प्रत्यक्ष सराेकार राख्ने कार्यालय सञ्चालनमा आउन कठिनाइ भएको बेला तत्काल आवश्यक अफिस कागजातको लागि दराज, कार्यलय संचालनको लागि टेबुल कुर्सी सहयोग गरिएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख रामकृष्ण अधिकारीको मातहतमा सहायक ना.सु गोपाल पोख्रेललाई उक्त सामाग्री हस्तान्तरण गरिएकाे हाे । सो अवसरमा कार्यलय सहायक पोख्रेलले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा भएको अवस्थामा सुप्रिम सहकारी संस्थाले उपलब्ध गराएको सामाग्रीले अत्यन्तै ठूलो सहयोग पुगेको भन्दै सहकारी परिवार प्रति आभार प्रकट गर्दै धन्यवाद दिएका थिए । त्यसैगरी, संस्थाका अध्यक्ष मनोज अधिकारीले सुप्रिम सहकारी संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदायमुखी गतिविधि गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख दिपक रेग्मी तथा जिन्सी सामाग्री संयोजक लगायत संस्थाका उपाध्यक्ष भीमलाल श्रेष्ठ , सचिव बिकास राज खनाल , संचालक समिती, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु , कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सहकारीले अन्य स्थानका विभिन्न क्षेत्रहरुमा समेत सहयोग गर्दै आएको र पुनःनिर्माण तथा मर्मत सम्भार गर्नको लागि सहकार्य गर्ने समेत जनाएको छ ।
























