जिल्ला प्रशासन कार्यालयमा बिहान ८ देखि साँझ ६ बजेसम्म काम हुने

जिल्ला प्रशासन कार्यालयमा बिहान ८ देखि साँझ ६ बजेसम्म काम हुने

जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा समय विस्तार गरेको छ । सेवाग्राहीको भीड बढेपछि कार्यालयले बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन सुरु गरेको हो । यसअघि सेवा बिहान १० देखि साँझ ५ बजेसम्म मात्र दिइँदै आएको थियो ।

जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको कार्यालयमा एक महिनापछि गत आइतबारदेखि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सेवा पुनः सुरु गरिएको हो । सेवाग्राहीको अत्यधिक भीडका कारण बिहान दुई घण्टा र साँझ एक घण्टा थप गरेर कुल तीन घण्टा समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

“एक महिना सेवा रोकिँदा भीड अत्यधिक बढेकाले समय थप गरेर सहजता ल्याउने प्रयास गरिएको हो,” अधिकारीले भने । उनका अनुसार पहिले पाँच युनिटबाट सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्र सेवा अहिले दुई युनिटमा सीमित भएकाले पनि भीड बढेको हो ।

नेपाल सरकारले आवश्यक उपकरण पठाएपछि सेवा पुनः सञ्चालन सम्भव भएको हो । त्यस्तै, तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा जलेका कोठाको मर्मत सम्भार तथा अन्य संघसंस्थाबाट आएका सहयोगले कार्यालय सञ्चालनमा सहजता आएको अधिकारीले जानकारी दिए।

हाल कार्यालयमा नागरिकताको सेवा सुचारु भइसकेको छ भने राहदानी सेवा सुरु गर्ने तयारी भइरहेको जनाइएको छ । राहदानी वितरण कार्य भने निरन्तर जारी रहेको कार्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page