म्याग्दे ४ का महिलाहरू सामुहिक सयपत्री फुलखेती तर्फ आकर्षित
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ छिमलिस्वाँराका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्। गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन्।

चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर उनिहरू सामूहिक फूलखेतीमा लागेका हुन्। तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले बताइन् ।अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेथ्र्यौँ। हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो। गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ।”

समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् ।यस वर्षको तिहारका लागि फूल उत्पादन सँगै अर्डर समेत भइसकेको अध्यक्ष रानाले बताइन्। समुहका सचिव महेन्द्रराज रानाले सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको बताए।बिरुवा फेसवुक पेजमा हेरेर पत्ता लगाएको र ल्याइएको भन्दै उनलेे अहिले फुल ढकमक्क फुलेको देख्दा धेरै खुसी लागेकाे बताए । बजारका लागि ३ सय किलो अर्डर भइसकेको र २ गते पाेखराबाट फुल लिन आउने उनलेे बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए। गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनको भनाइ छ।
“स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ। उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ” अधिकारीले भने ।

























