पर्यटकको राेजाइमा पर्दै बर्च्याङकाे मगर सामुदायिक हाेमस्टे

पर्यटकीय क्षेत्रकाे रूपमा रहेको मानहुँकोटबाट करिब ४ किलोमिटरको दुरीमा रहेको बर्च्याङ होमस्टे पर्यटकहरूकाे राेजाइमा पर्दै गएको छ । होमस्टेले पाहुनाहरूलाई स्थानीय पारम्परिक खाना खुवाउने, मौलिक नाच र रैथाने संस्कृति अध्ययन तथा अवलोकन गर्ने थलोको रूपमा बिकास गर्दै गएपछि बर्च्याङकाे हाेमस्टे पर्यटकहरूकाे राेजाइमा पर्दै गएकाे हाे ।

मानहुँकोट आफैमा पर्यटकीय स्थलको रुपमा बिकास भइरहेको तर त्यहाँ आधुनिक होटलहरु भन्दा ग्रामीण हिसावबाट पर्यटनको बिकास नभएकाले बर्च्याङ गाउँलाई सोही हिसावले विकास गर्न स्थानीय जुरमुराएका छन् ।

‘करिब ८० घरधुरी मगर समुदायको गाउँ रहेको बर्च्याङमा कला संस्कृति भएको तर पछिल्लो समय लोप हुँदै गएको अवस्थामा गाउँले हरू एकजुट भइ हाेमस्टे सञ्चालनमा ल्याएका हुन् । बर्च्याङ कृषिका लागि पनि उर्वर भूमि भएकाले उत्पादन, वातावरणमैत्री कृषि तथा दृश्यावलाेकनका लागि पनि उत्कृष्ट गाउँ रहेको छ ।
आफ्नै खेतबारीमा कोदो, मकै, साग, अचार र स्थानीय रैथाने जातका कुखुरा उत्पादन गरी होमस्टेमा आउने पाहुनालाई खुवाउने तथा कोशेलीका रुपमा उपलब्ध गराउने गरि अगाडि बढेको हाेमस्टेका अध्यक्ष गिरीराम थापा मगरले बताए । यो कार्यक्रमले पक्कै पनि हाम्रो अनि गाउँको अर्थतन्त्रमा नयाँ उत्साह ल्याउनुका साथै कृषि उत्पादनको आयमा समेत वृद्धि हुने आशा जगाएको उनको भनाइ छ ।’
यो कार्यक्रम सञ्चालनसंगै बर्च्याङका महिलाहरूको जीवनशैलीमा समेत परिवर्तन आएको छ । गाउँमा नयाँ मान्छे आउँदा बोल्न हिच्किचाउने, आफ्नो नाम समेत भन्न नसक्ने अवस्था र चुलोचौकोमा मात्र सिमित हुने अवस्था अहिले हट्दै गएको स्थानीयले बताएका छन् । कार्यक्रम सञ्चालनसंगै स्थानीयहरुले पहिले कृषि उत्पादन गर्नुपर्ने रहेछ त्यसपछि उद्यमशिल हुनुपर्ने र उत्पादित कृषि उपज बाहिरबाट गाउँमा आउने पाहुनाहरुलाई खुवाउने र सेवा सत्कार गर्नुपर्ने बुझेपछि होमस्टे सञ्चालनको कार्यक्रम अगाडि बढाइएको स्थानीयले बताएका छन् ।२०८१ सालबाट सुरु भएको हाेमस्टेमा ३० जना सम्म पाहुनालाई राख्न सकिने ब्यवस्था छ । यहाँको हाेमस्टेमा साँझको खाजा , लाेकल कुखुरा खाना , नाचगान , सुत्न , बिहान ब्रेकफास्ट र खाना गरेर एकजनाको प्याकेजमा १२ सय रूपया लाग्ने अध्यक्ष मगरले बताए ।

























