मंसिर २५ र २६ गते दमाैलीमा खेलकुद महाेत्सव हुने
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ । खेलकुद महाेत्सवका बारेमा जानकारी दिन मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा एन प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रतियोगितामा लगभग तीन लाख ५० हजारदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको खनालले जानकारी दिए ।

प्रतियोगिताको मुख्य उद्देश्यका बारेमा केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले भने, “निजी विद्यालयले केवल किताबी ज्ञान मात्र होइन, खेलकुद र अनुशासन मार्फत विद्यार्थीको चौतर्फी विकास गर्नुपर्छ, यही सोचका साथ प्रतियोगिता आयोजना गरिएको हो ।”

उक्त प्रतियोगितामा २६ स्वर्ण पदकको व्यवस्था गरिएको छ भने लगातार तीन पटक विजेता बनेका विद्यालयलाई शिल्ड प्रदान गरिनेछ । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा एन प्याब्सनका उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले प्रतियोगितालाई निरन्तरता दिँदै विद्यार्थीहरूको अतिरिक्त विकासका लागि भावी वर्षहरूमा पनि यही कार्यक्रम जारी राखिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रतियोगितामा उत्कृष्ट सहभागी सङ्ख्या, झाँकी र अनुशासन देखाएका विद्यालयलाई दुई-दुई हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घघाटन समारोहमा एन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा प्रमुख अतिथि हुने जानकारी पनि दिइएको छ ।

























