माघे सङ्क्रान्तिमा बन्दीपुरको कुकुर्दीमा गोरु जुधाइ प्रतियोगिता
बन्दीपुर, तनहुँ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना हुने भएको छ। नारायण गोपाल युवा क्लबको आयोजनामा उक्त अवसरमा पाँचौँ नारायण गोपाल कप शुद्ध गाउँस्तरीय भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत भलिबल र गोरु जुधाइसँगै महिलाबीच डोरी तान्ने, छेलो प्रतियोगिता तथा घैँटो फुटाइ प्रतियोगिता पनि समावेश गरिएको छ।
गोरु जुधाइ प्रतियोगितामा प्रथम हुने गोरुका धनीलाई २० हजार रुपैयाँ र द्वितीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यस्तै, भलिबल प्रतियोगिता पुस २५ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
खेलकुद तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका युवा सुरज अधिकारीले जानकारी दिए।

गाउँस्तरका विभिन्न टिमहरूको सहभागिता रहने भलिबल प्रतियोगिता र परम्परागत गोरु जुधाइले दर्शकको उल्लेख्य आकर्षण बढाउने अपेक्षा गरिएको छ।
स्थानीय युवाहरूको सक्रिय सहभागिताले गाउँमा आपसी सद्भाव बढाउनुका साथै खेलकुदप्रतिको रुचि अभिवृद्धि हुने विश्वास आयोजकले लिएको छ।


























