सेशेल्समा संकलित सहयोग रकम नेपालमा उपचाररत रमेश तामाङलाई हस्तान्तरण

सेशेल्समा संकलित सहयोग रकम नेपालमा उपचाररत रमेश तामाङलाई हस्तान्तरण


काठमाडौं।
दोलखा जिल्लाका स्थायी बासिन्दा तथा नेपाली ग्लोबल सेशेल्स का पञ्जीकृत सदस्य (परिचय पत्र नं. 248SEZ028) श्री रमेश तामाङ सेशेल्समा कार्यरत रहँदाकै क्रममा नशासम्बन्धी गम्भीर रोगबाट पीडित भई त्यसको जटिलताका कारण प्यारालाइसिस भएका छन्। हाल उनी नेपालमा उपचाररत रहेका छन्।
उपचारका क्रममा आर्थिक अवस्था अत्यन्त कमजोर बनेपछि थप उपचारका लागि सहयोग आवश्यक परेको अवस्थालाई मध्यनजर गर्दै नेपाली ग्लोबल सेशेल्स ले विशेष सहयोग अभियान सञ्चालन गरेको थियो। उक्त अभियान संस्थाका सदस्य श्री निमा घिसिङको संयोजकत्वमा तथा प्रथम उपाध्यक्ष श्री विजय थापाको सह–संयोजकत्वमा सञ्चालन गरिएको हो।
अभियानमार्फत विभिन्न सहयोगदाताबाट स्वेच्छिक रूपमा जम्मा सेशेल्स रूपैयाँ २३,०१५ संकलन गरिएको थियो। संकलित रकम १६ अक्टोबर २०२५ का दिन संयोजक श्री निमा घिसिङले सेशेल्सको भिक्टोरिया स्थित Unimoni मार्फत नेपाली रुपैयाँमा रूपान्तरण गरी श्री रमेश तामाङको नेपालस्थित बैंक खातामा रु. २,१४,२७७.०२ जम्मा गरेका थिए।
यसैबीच, नेपाली ग्लोबल सेशेल्स का तृतीय उपाध्यक्ष श्री राजेन्द्र कुँवर, महासचिव श्री सुरेन्द्र कुँवर, कोषाध्यक्ष श्री अस्मिता आले मगर तथा सह–कोषाध्यक्ष श्री सानुकाजी सिमखडाले वार्षिक बिदाको क्रममा नेपाल रहँदा १२ डिसेम्बर २०२५ का दिन गोकर्णेश्वर–५, जोरपाटीस्थित चामुण्डा हेल्थ केयर एन्ड फिजियोथेरापी सेन्टरमा उपचाररत श्री तामाङसँग भेट गरी एक महिनाको फिजियोथेरापी उपचारका लागि रु. १०,००० सहयोग रकम हस्तान्तरण गरेका छन्।
संस्थाले यस मानवीय कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने संयोजक श्री निमा घिसिङ, सह–संयोजक श्री विजय थापा, सम्पूर्ण सहयोगी दाताहरू तथा कार्यसमितिका पदाधिकारीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।


हाल श्री रमेश तामाङको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको जानकारी प्राप्त भएको संस्थाले जनाएको छ। संस्थाले उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page