कालिका माविका भूतपूर्व विद्यार्थीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

कालिका माविका भूतपूर्व विद्यार्थीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण


देवघाट, तनहुँ।
तनहुँको देवघाट गाउँपालिका–५, क्यूँदीस्थित कालिका माध्यमिक विद्यालयका १३१ जना विद्यार्थीलाई भूतपूर्व विद्यार्थी समितिले न्यानो कपडा वितरण गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि हरिहर सन्यास आश्रम, देवघाटका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले विद्यार्थी जीवनमै आफ्नो लक्ष्य स्पष्ट गरी त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए। उनले आफूले शिक्षा हासिल गरेको स्थानप्रति सधैं ऋणी रहनुपर्ने उल्लेख गर्दै, जहाँ भए पनि आफ्नो क्षेत्रबाट विद्यालयलाई सहयोग गर्नु कर्तव्य भएको धारणा राखे।
कालिका माविका भूतपूर्व विद्यार्थीहरूले गरेको यो कार्य उदाहरणीय रहेको उल्लेख गर्दै स्वामी ज्ञानानन्द सरस्वतीले अन्य विद्यालयका भूतपूर्व विद्यार्थीहरूले पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिमा सहभागिता जनाउनुपर्ने बताए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शरदचन्द्र खनालले पछिल्लो समय भूतपूर्व विद्यार्थीहरूले विद्यालयका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए। विद्यालयको भविष्य उज्यालो बनाउन भूतपूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले यस्ता सहयोग निरन्तर रहनुपर्ने आवश्यकता औंल्याए।
भूतपूर्व विद्यार्थी समिति कालिका माविका अध्यक्ष विकास ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उनले आफूले अध्ययन गरेको विद्यालयमा योगदान गर्न सके विद्यार्थी भाइबहिनी र विद्यालय दुवैको भविष्य उज्यालो हुने बताए। समाज रूपान्तरणका लागि मानिसले आफ्नो समय र कमाइको केही अंश सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।


ढकालले भूतपूर्व विद्यार्थीहरूले शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानमा देश तथा विदेशमा रहेका मनकारी दाताहरूको सहयोग प्राप्त भएको जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page