भैरवकाली माविमा विद्यार्थी–केन्द्रित फुड फेस्टिवल आयोजना हुने
मध्यनेपाल नगरपालिका–४ स्थित श्री भैरवकाली माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी–केन्द्रित फुड फेस्टिवल आयोजना गरिने भएको छ। ‘पढ्दै–कमाउँदै’ कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त फुड फेस्टिवलमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूले आफूले जानेका अर्गानिक खाना तथा खाजा तयार गरी बिक्री गर्ने विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले जानकारी दिनुभयो।
फुड फेस्टिवलमा विद्यार्थीहरूले भेज तथा ननभेज मोमो, पनिर पकौडा, अर्गानिक चना–चटपटे, पानीपुरी, दहीपुरी, नेवारी खाजा (भेज/ननभेज), कोदाको सेलरोटी, चिया, कफी लगायतका परिकार बिक्री गर्नेछन्। त्यसैगरी कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूले पोटेटो चिजबल्सजस्ता परिकार पनि तयार गर्ने फुड फेस्टिवल संयोजक शिक्षक प्रल्हादचन्द्र लम्सालले जानकारी दिनुभयो।
विद्यालयमा हाल ‘पढ्दै–कमाउँदै’ कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोगमा च्याउखेती कार्यक्रमसमेत सञ्चालनमा रहेको छ।
यसैबीच विद्यालयमा सप्ताहव्यापी खेलकुद कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कार्यक्रमअनुसार पौष २३ गते अन्तरसदनात्मक फुटबल प्रतियोगिता, २४ गते बिहान सरस्वती पूजा तथा दिउँसो अन्तरसदनात्मक खेलकुद कार्यक्रमको औपचारिक उद्घाटन र अभिभावक भेला, २५ गते अन्तरआधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा अन्तरसदनात्मक दौड आयोजना गरिनेछ।
त्यसैगरी पौष २६ गते अभिभावक खेलकुद तथा अन्तरसदनात्मक खेलकुद प्रतियोगिताको फाइनल हुनेछन्। पौष २७ गते वार्षिकोत्सव समारोहको उद्घाटन, चन्दादाता सम्मान, अतिथि स्वागत, वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, शुभकामना मन्तव्य, सांस्कृतिक नृत्य तथा नाटक प्रस्तुत गरी कार्यक्रम समापन गरिनेछ भने सोही दिन साँझ दीपावली कार्यक्रम आयोजना गरिनेछ। पौष २८ गते पुरस्कार वितरण गरिने प्रधानाध्यापक लम्सालले जानकारी दिनुभयो।

पौष २५ गते आयोजना हुने अन्तरआधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गरिनेछ। विद्यार्थीहरूले स्मार्ट टिभीको स्क्रिनमार्फत प्रश्न छनोट, पढ्ने तथा जवाफ दिने व्यवस्था गरिएको छ भने प्राप्त अङ्क र नतिजा स्क्रिनमै देखिने गरी एप निर्माण गरिएको विद्यालयका आईसीटी इन्चार्ज विनोद कोइरालाले जानकारी दिनुभयो।
उक्त कार्यक्रमको समुद्घाटन मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेले प्रमुख अतिथिका रूपमा गर्नुहुने भएको छ।



























