नारायणी आधारभूत विद्यालयको ६०औँ वार्षिकोत्सव सम्पन्न

नारायणी आधारभूत विद्यालयको ६०औँ वार्षिकोत्सव सम्पन्न


भानु, तनहुँ
तनहुँको भानु नगरपालिका–५ स्थित नारायणी आधारभूत विद्यालय बारीफाँटको ६०औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे तथा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल विशिष्ट अतिथि रहनुभएको थियो भने सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष हरिहर उप्रेती विशेष अतिथि रहनुभएको थियो।
स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक हर्कबहादुर भण्डारीले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक गणेशराज पन्थले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


कक्षा ८ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयमा हाल १०९ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको प्राङ्गणमा United World School (UWS) नामक संस्थाको सहयोगमा ११ कोठे पक्की भवन निर्माण गरिएको छ। उक्त भवनमा बालमैत्री कक्षाकोठा, फर्निचर, कार्पेटिङ, बुक कर्नर, रंगरोगन तथा सुविधासम्पन्न शौचालयको व्यवस्था गरिएको छ। यसले विद्यालयको भौतिक पूर्वाधारलाई थप सुदृढ बनाउनुका साथै सिकाइमैत्री वातावरण सिर्जना गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिंखडा भानु नगरपालिकाबाट उत्कृष्ट अध्यक्षका रूपमा सम्मानित भइसकेका छन्। विद्यालयको भौतिक विकाससँगै आन्तरिक व्यवस्थापन, सरसफाइ, विद्यार्थी आवागमन तथा स्रोत व्यवस्थापनमा उहाँको सक्रियता उल्लेखनीय रहेको छ। उहाँकै व्यक्तिगत पहलमा विद्यालय तथा छिमेकी सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जाडो यामका लागि न्यानो कपडा (ट्र्याकसुट सेट) वितरण गरिएको थियो। यही योगदानका कारण उहाँ हालै दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page