भिमाद नगरपालिका नगरसभाको २१औँ अधिवेशन सम्पन्न
भिमाद नगरपालिका नगरसभाको २१औँ अधिवेशन मिति २०८२ साल पौष २९ गते भिमाद नगरपालिकाका श्रद्धेय नगरप्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
अधिवेशनमा विभिन्न विधेयक, कार्यविधि, प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत भई विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। नगरसभा सदस्य तथा भिमाद नगरपालिकाकी श्रद्धेय नगर उप–प्रमुख श्री शारदा खनालज्यूले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक नगर विकास योजना, कार्यक्रम तथा बजेटमा आवश्यक रकमान्तर, संशोधन तथा नयाँ योजनाहरू थप गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी नगरसभा सदस्य श्री रामकृष्ण रानाज्यूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ तथा भिमाद नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो। नगरसभा सदस्य श्री वीरबहादुर बस्यालज्यूद्वारा बेरुजु फछ्र्यौट कार्यविधि, २०८२ र लेखा समिति गठन कार्यविधि, २०८२ प्रस्तुत गरिएको थियो।
नगरसभा सदस्य श्री अणबहादुर शाहीज्यूले नगरसभा सचिवालय सञ्चालन कार्यविधि, २०८२ प्रस्तुत गर्नुभएको थियो भने नगरसभा सदस्य श्री प्रकाश श्रेष्ठज्यूद्वारा औद्योगिक व्यवसाय सञ्चालन विधेयक, २०८२ प्रस्तुत गरिएको थियो। साथै नगरसभा सदस्य एवं नगर प्रवक्ता श्री पदमराज सेन ठकुरीज्यूले चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म नगर कार्यपालिकाका ८ वटा बैठकहरूबाट भएका निर्णयहरू अनुमोदन सम्बन्धी प्रस्ताव नगरसभामा पेश गर्नुभएको थियो।

नगरको आवश्यकता, प्राथमिकता तथा समग्र हितलाई ध्यानमा राखी नगरसभामा भएको छलफलपछि प्रस्तुत सबै विधेयक, कार्यविधि, प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।
अधिवेशनले नगरको समग्र विकास, सुशासन तथा आर्थिक अनुशासनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।


























