तनहुँ–२ मा रास्वपाबाट डा. शेषरमण न्यौपानेको चर्चा
तनहुँ । राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. २ मा सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ। सो क्रममा समाजशास्त्रमा विद्यावारिधि (PhD) हासिल गर्नुभएका डा. शेषरमण न्यौपानेको नाम प्रबल दावेदारका रूपमा अगाडि आएको छ।
पार्टीले उम्मेदवारको अन्तिम निर्णय गर्न बाँकी रहे पनि डा. न्यौपानेले आफ्नो सम्भावित उम्मेदवारी र एजेन्डाबारे सरोकारवालासँग छलफललाई तीव्रता दिनुभएको छ। लामो समयदेखि उही अनुहार र परम्परागत राजनीतिक कार्यशैलीबाट विकल्प खोजिरहेका मतदातामाझ उहाँको बौद्धिक पृष्ठभूमि र फरक सोचले सकारात्मक चर्चा पाएको छ।
डा. न्यौपानेले राजनीतिलाई सत्ता प्राप्तिको माध्यम मात्र नभई सामाजिक समस्या समाधानको प्रभावकारी औजारका रूपमा विकास गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ। उहाँका प्रमुख एजेन्डामा सुशासन र प्रणालीको विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यावहारिक सुधार, र सामाजिक न्याय रहेका छन्।
उहाँले व्यक्तिभन्दा पद्धति बलियो बनाइनुपर्नेमा जोड दिँदै सरकारी सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताउँदै आउनुभएको छ। त्यस्तै, कागजी योजनामा सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा छ। समाजशास्त्रको पृष्ठभूमि भएकाले सामाजिक विभेद अन्त्य र समावेशी विकासमा उहाँले विशेष चासो देखाउँदै आउनुभएको छ।

पार्टीको आन्तरिक छनोट प्रक्रिया र चुनावी रणनीतिका आधारमा डा. न्यौपानेको उम्मेदवारीले अन्तिम रूप पाउने बताइएको छ। यदि उहाँ चुनावी मैदानमा उत्रिनुभयो भने तनहुँ–२ को निर्वाचन प्रतिस्पर्धा थप रोचक र वैचारिक बन्ने स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

























