डुम्रे–बेशिशहर सडक खण्डमा बोलेरो दुर्घटना, विदेशी नागरिकसहित ५ जना घाइते
तनहुँ जिल्लाको भानु नगरपालिका–८ बलिफाँटस्थित डुम्रे–बेशिशहर सडक खण्डमा आज दिउँसो १२:३५ बजेको समयमा बोलेरो गाडी दुर्घटनामा परेको छ। मनाङबाट काठमाडौंतर्फ जाँदै गरेको ग ३ च ६३७५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब १.५ मिटर तल बाझो खेतमा रहेको विद्युत् ट्रान्सफर्मर जडित कंक्रिटको पोलमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा पोल भाँचिनुका साथै ट्रान्सफर्मरमा क्षति पुगेको छ।
दुर्घटनामा बोलेरोमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चिनोखोला हाइड्रोपावर, मनाङमा कार्यरत एक विदेशी नागरिकसमेत रहेका छन्। घाइते सबैलाई तत्काल गोरखा सामुदायिक अस्पताल, तुरतुरेमा उपचार गराई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


























